काठमाडौँ — काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन कार्य सुरु गरेको छ ।
महानगरका विभिन्न सडकमा तार लत्रिँदा पैदलयात्री अल्झिने र सडकसम्म झुन्डिँदा सवारी दुर्घटनाको जोखिम बढेकाले व्यवस्थापन सुरु गरिएको महानगर प्रहरी बलका प्रहरी निरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
महानगरले पहिलो चरणमा पुतलीसडक, थापाथली र बबरमहल क्षेत्रमा तार व्यवस्थापन कार्य अगाडि बढाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइनका लागि राखेका पोलमा विभिन्न इन्टरनेट सेवा प्रदायक र टेलिभिजन नेटवर्कले तार टाँगेर अस्तव्यस्त बनाएका कारण समस्या बढेको जनाइएको छ । ती कम्पनीहरूले प्राधिकरणलाई शुल्क तिरे पनि तार व्यवस्थापनमा उदासीन रहँदै आएको महानगरले जनाएको छ ।



