कञ्चनपुर, — कञ्चनपुरको दोधारा चाँदनीका किसान पछिल्ला वर्षमा परम्परागत धान र गहुँ खेती छोडेर भटमास खेतीतर्फ आकर्षित भएका छन् । कम लगानी र श्रममा राम्रो आम्दानी हुने भएपछि किसानहरूले भटमासलाई विकल्पको रूपमा अपनाएका हुन् ।
दोधारा चाँदनी नगरपालिका–८ का टेकबहादुर खड्काले तीन वर्षअघि पाँच कठ्ठा जमिनमा व्यावसायिक रूपमा भटमास खेती सुरु गरेका थिए । अहिले उनले खेती विस्तार गरी डेढ विघा क्षेत्रफलमा भटमास खेती गर्दै आएका छन् । “भटमास खेतीमा थोरै मेहनत र लगानीमा वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुन्छ,” उनले भने, “धान र गहुँ खेतीमा लगानी धेरै पर्छ, तर भटमासमा राम्रो मुल्य पाइन्छ।”
उनका अनुसार स्थानीय किसानहरू पनि पछिल्लो समय भटमास खेतीतर्फ आकर्षित भएका छन् । “धान–गहुँले खर्च मात्र उठाउँछ, तर भटमासले नाफा दिन्छ,” उनले भने, “अहिले धेरै किसानले परिवारलाई खान पुग्ने मात्र धान लगाएर बाँकी जग्गामा भटमास खेती गर्न थालेका छन्।”
दोधारा चाँदनी–९ का किसान जगत बुढाले पनि भटमास खेतीले परम्परागत खेतीभन्दा बढी लाभदायक भएको बताए । “धान र गहुँमा फाइदा बिचौलियाले लिन्छ, किसानलाई मुल्य पाइँदैन,” उनले भने, “भटमास खेतीमा हामीले उत्पादनअनुसारको उचित मुल्य पाउँछौँ।” उनका अनुसार गत वर्ष उनले ८५ रुपैयाँ प्रतिकिलोमा भटमास बिक्री गरी करिब तीन लाख रुपैयाँ आम्दानी गरेका थिए ।
भटमासको बिक्रीमा पनि समस्या नभएको किसानहरूको भनाइ छ । व्यापारीहरू कुखुराको दाना उत्पादनका लागि घरमै आएर खरिद गर्ने भएकाले बजारको समस्या नरहेको उनीहरू बताउँछन् ।
दोधारा चाँदनी नगरपालिकाका कृषि अधिकृत कमलापति भट्टका अनुसार नगरपालिकामा हाल ३,६०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब १०० हेक्टरमा भटमास खेती भइरहेको छ । “यहाँको माटो भटमासका लागि अत्यन्त उपयुक्त छ,” उनले भने, “पछिल्ला वर्षहरूमा किसानको रुचि बढ्दै गएको छ ।”
उनका अनुसार गत वर्ष प्रदेश सरकारले २५ हेक्टर क्षेत्रफलका लागि मात्र अनुदान प्रदान गरे पनि किसानको चासो बढेपछि नगरपालिकाले ५८ हेक्टरमा अनुदान विस्तार गरेको थियो । “यहाँ दोमट र पानी नजम्ने माटो भएकाले भटमास खेती फष्टाएको छ,” कृषि अधिकृत भट्टले भने ।
भटमास खेती गर्ने किसानको सङ्ख्या बढेसँगै दोधारा चाँदनी नगरपालिकाले आगामी वर्षदेखि किसान लक्षित कार्यक्रम ल्याउने तयारी गरेको छ ।



