सस्तीयो डिजेल र मट्टितेल, बढ्यो हवाई इन्धन

काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरी मुल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।

त्यस्तै, हवाई इन्धनको मूल्यमा समायोजन गरिएको निगमले जनाएको छ । आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर सातले मूल्य वृद्धि गरिएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशन बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ र हवाई इन्धनमा रु ०.८६ ले वृद्धि भएको छ भने डिजेलमा रु १.१९ ले कमी आएको छ । सोही आधारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार उपभोक्ताले पेट्रोल पुरानै मूल्यमा खरिद गर्न सक्नेछन् भने डिजेल र मट्टितेलमा सस्तो दरमा लाभ पाउनेछन् ।