मुस्ताङ – मुस्ताङको कागबेनी–कोरला सडकखण्डका विभिन्न १० स्थानमा पहिरो र लेदोसहितको बाढीले सडक अवरुद्ध बनेको छ । बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण सडकका धेरै स्थानमा सडक संरचना क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्णुप्रसाद भुसालका अनुसार कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मका खोल्ला–खोल्सीमा आएको लेदोसहितको बाढीले सडक संरचनामा गम्भीर क्षति पु¥याएको छ । उपकरण परिचालन गरी सडक खुलाउने प्रयास सुरु भए पनि तत्काल यातायात सञ्चालन हुन नसक्ने उनले बताए वर्षाका कारण सडकसँगै सञ्चार सेवा पनि प्रभावित बनेको छ ।
कागबेनीदेखि वारागुङ मुक्तिक्षेत्र–३ स्थित चैलेसम्मको सडक खण्डमा दर्जनौँ स्थानमा माथिबाट पहिरो खसेपछि शुक्रबार बिहानदेखि नै सडक अवरुद्ध भएको थियो ।
राष्ट्रिय गौरवको कागबेनी–कोरला सडकखण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको सडकको झन्डै ५० मिटर भाग बाढीले बगाएको वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–ताङ्वे खण्डमा चारभन्दा बढी स्थानमा सडक अवरुद्ध छ ।
त्यसैगरी, ताङ्वेदेखि छुसाङसम्मको सडकमा पनि विभिन्न ठाउँमा अविरल वर्षाले सडक संरचनामा क्षति पुगेको छ । ताङ्वे खोलामा आएको लेदोसहितको बाढीले सडकको भाग पूरै बगाएको बताइएको छ ।
वर्षाका कारण वारागुङ मुक्तिक्षेत्रकै मुस्ताङ गेडमाथिको चैलै सडकमा पनि करिब ३५ मिटरभन्दा बढी सडक पहिरोले ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनका अनुसार पहिरोका कारण पर्खाल र फिलिङ गरिएको सडक भाग भासिएर क्षति भएको हो ।
शनिबार प्रजिअ भुसालसहितको सुरक्षा टोलीले कागबेनी–छुसाङ सडकखण्डको स्थलगत अवलोकन गरेको छ । सडक खुलाउन तीनवटा उपकरण परिचालन गरिएको छ भने कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले आफ्ना स्रोतसाधन समेत परिचालन गर्ने जनाएको छ ।
आयोजनाका अनुसार स्थानीयको दुईवटा उपकरण र म्याग्दी खण्डको एक लोडर सम्बन्धित स्थानमा पुगिसकेको छ । यद्यपि सडकका धेरै भागमा संरचना ध्वस्त भएकाले तत्काल सञ्चालन हुने अवस्था नरहेको वारागुङ–४ का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले बताए । उनका अनुसार मर्मत सुरु भए पनि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही दिन लाग्नेछ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले कागबेनी–कोरला सडक अवरुद्ध भएकाले तत्काल त्यसतर्फ यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
यसअघि बिहीबार रातिको वर्षाले जोमसोम–कागबेनी सडक पनि अवरुद्ध बनाएको थियो । शनिबार बिहान स्थानीय प्रशासनको पहलमा डोजर परिचालन गरी पहिरो पन्छाएपछि उक्त सडक सञ्चालनमा आएपछि मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्रीका लागि आवागमन सहज बनेको जनाइएको छ ।



