नगरप्रमुख भट्टराईले स्वर्गीय आमाको स्मृतिमा अक्षयकोष स्थापना गरे

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा उनका परिवारले स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।

शैक्षिक क्षेत्रको विकास र भावी पुस्तालाई आर्थिक सहयोग पु¥याउने उद्देश्यले नगरप्रमुख भट्टराई र परिवारका सदस्यले आफ्नै गाउँ दोर्पाचिउरीडाँडामा अवस्थित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–२०८२’ स्थापना गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईका अनुसार अक्षयकोषमा पहिलो चरणमा रु दुई लाख दुई हजार २२२ जम्मा गरिएको छ । नगरप्रमुख भट्टराईकी आमा पदमकुमारी भट्टराईको गत वर्ष कात्तिक १६ गते, ८८ वर्षको उमेरमा निधन भएको थियो ।

नगरप्रमुख भट्टराईले आफ्नै गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यले कोष स्थापना गरिएको बताए । उहाँका अनुसार समाजमा देखिने भड्किला धार्मिक संस्कार र अनावश्यक खर्चलाई निरुत्साहित गर्दै संस्कार, संस्कृति र शिक्षा सँगसँगै अगाडि बढ्ने प्रेरणा स्वरूप यो पहल गरिएको हो ।

विद्यालयका अनुसार अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम विद्यालय प्रशासन र कोष सञ्चालन समितिको निर्णयअनुसार वार्षिक रूपमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, शैक्षिक गतिविधि तथा आवश्यक सहयोगमा खर्च गरिनेछ ।