काठमाडौँ — बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि वत्ति जडान कार्य सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्याण्डफिल्ड साइटमा वत्ति जडानका लागि पोल झारेको हो । अब ती पोल गाडेर वत्ति जडान गरिनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार स्थलको अनुगमन र स्थानीयसँगको अन्तक्रिया गर्दै रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै वत्ति जडान सुरु गर्ने प्रतिबद्धता जनाएका थिए ।
मन्त्रीको निर्देशनअनुसार प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र नुवाकोट वितरण केन्द्र प्रमुखले बीजुली जडानका लागि आवश्यक तयारी अघि बढाएका हुन् ।
त्यसैगरी, ल्याण्डफिल्ड साइटमा फोहोरबाट निस्कने लिच्चड (द्रव फोहोर) व्यवस्थापनका लागि पम्प पनि आपूर्ति भइसकेको छ ।
स्थानीयसँग गरिएको प्रतिबद्धता अनुसार नियमित अनुगमनका लागि शहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियरको संयोजकत्वमा समिति गठन गरिएको छ । सो समितिमा काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका, ककनी गाउँपालिका र प्रत्यक्ष प्रभावित स्थानीयको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ ।



