अस्पतालकै भवनबाट गाउँपालिकाको सेवा

सिरहा, — गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा सिरहाको औरही गाउँपालिकाको प्रशासकीय भवनमा आगजनी भएपछि स्थानीय प्रशासनिक सेवा प्रवाहमा गम्भीर समस्या आएको छ ।

भवन पूरै ध्वस्त भएपछि गाउँपालिकाले हाल अस्थायी रूपमा औरही अस्पतालको माथिल्लो तलाबाट कार्यालय सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष शिवजी यादवले जानकारीदिए । उनका अनुसार नयाँ प्रशासकीय भवन निर्माण कार्य अघि बढाइएको र यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

रु ७ करोड ९४ लाख १८ हजार ८९० लागतमा नयाँ भवन निर्माण भइरहेको अध्यक्ष यादवले बताए । उनले भने, “पुरानो भवन कामै नलाग्ने गरी जलिसकेको छ, अहिले तत्कालका लागि अस्पतालसँग सहकार्य गरेर सेवा दिइरहेका छौँ।”

तर अस्पताल भवनमै गाउँपालिकाको कार्यालय सञ्चालन हुन थालेपछि दुवै सेवामा समस्या देखिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवशरण यादवका अनुसार कार्यालयका शाखाहरूका लागि पर्याप्त स्थान नभएकाले प्रशासनिक कामकाजमा कठिनाइ भइरहेको छ ।

हाल अस्पतालको माथिल्लो तलामा प्रमुख प्रशासकीय अधिकृतको कक्षसहित शिक्षा र स्वास्थ्य शाखा सञ्चालनमा छन् । कोठा अभावका कारण अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष अस्पतालकै न्यायिक समितिको हलमा राखिएको छ भने कृषि, राजस्व र पशु शाखा छुट्टै भवनबाट सञ्चालन भइरहेको छ ।

अर्कातर्फ, अस्पताल प्रमुख उपेन्द्र यादवका अनुसार गाउँपालिकाको प्रशासनिक कामकाजले अस्पतालको नियमित सेवा प्रभावित भएको छ । उनले भने, “गाउँपालिकाका सेवाग्राहीको भीडभाडले बिरामी उपचारमा असहजता भएको छ, कोठा अभावले बहिरङ्ग, प्रसूति र प्रशासनिक कामकाजमा समस्या देखिएको छ ।”

पन्ध्र शय्या क्षमताको अस्पतालमा हाल पाँच शय्या मात्र सञ्चालनमा रहेको र दैनिक सय हाराहारी बिरामी उपचारका लागि आउने भएकाले स्वास्थ्यकर्मीलाई सेवा प्रवाहमा थप चुनौती रहेको अस्पताल प्रशासनले जनाएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र अस्पताल प्रशासन दुवैले तत्काल नयाँ प्रशासकीय भवन निर्माण कार्य तीव्र पार्नुपर्ने आवश्यकता औंल्याएका छन्, ताकि स्थानीय प्रशासनिक र स्वास्थ्य सेवा दुवै सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न सकियोस् ।