सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाबाट पानी पथान्तरण स्थानीयले शुक्रबारदेखि पूर्णरूपमा बन्द गरेका छन् ।
विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयहरूले पानी पथान्तरण बन्द गरेको बताएका छन् । स्थानीयहरूले आफ्नो माग पूरा नभएसम्मका लागि काठमाडौंमा पानी पठाइने छैन भनेर अडान लिएका छन्।
उनको मुख्य माग अनुसार, मेलम्ची नदी हेलम्बुबाट पथान्तरण भएको पानीको परिमाणको आधारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उठाएको शुल्कको २५ प्रतिशत रकम हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने हो ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले आयोजनाले विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाए । उनले भने, “आयोजनाले स्थानीयसँग पटक–पटक सम्झौता गर्ने गर्छ, तर पानी पठाएपछि समस्या नआएसम्म बेवास्ता हुन्छ । सहमति कार्यान्वयन नभएसम्म काठमाडौंमा पानी पठाइने छैन ।”
तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवले २०७८ साल असोज २१ गते संघर्ष समिति र गाउँपालिकासँग सम्झौता गरेका थिए । उक्त सम्झौता पश्चात् मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो।
स्थानीयहरूले बाढी प्रभावितहरूलाई राहत वितरण गर्नुपर्ने, र आयोजनाका बोर्ड सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग पनि राखेका छन् ।
खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले मेलम्चीमा पानी पथान्तरण अवरुद्ध भएको जानकारी पाएको बताउँदै, यस विषयमा छलफलका लागि भोलि बिहान १० बजे सरोकार पक्षलाई मन्त्रालयमा बोलाइएको जानकारी दिइन्।



