सडक स्तरोन्नतिका लागि घरटहरा हटाउन रुरुक्षेत्र गाउँपालिकाको आग्रह

गुल्मी — जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयले सडक मापदण्डभित्र पर्ने घरटहरा, पसल र अन्य संरचनाले सडक निर्माणमा अवरोध पुर्याइरहेकोले गाउँपालिकालाई समयमै उक्त संरचना हटाइदिन पत्राचार गरेको थियो ।

पत्राचारको आधारमा रुरुक्षेत्र–१ को रिडीबजार, वडा नं ३ को पानीट्यांकी क्षेत्र, तथा वडा नं ४ अन्तर्गत आमपोखरा र बलेटक्सार बजार क्षेत्रमा सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउन सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार निर्माणमा ढिलाइ हुँदा क्षतिपूर्ति उपलब्ध गराउने काममा पनि ढिलाइ हुन सक्ने भएकाले स्थानीयले सहयोग गर्न आग्रह गरिएको छ ।

सडक स्तरोन्नति कार्य २०७९ फागुन २६ मा समानान्तर–एलाइट जेभी काठमाडौँमार्फत १ अर्ब ५० करोड रुपैयाँको लागतमा सुरु गरिएको हो।
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इञ्जिनियर हुमनाथ पौडेलले जानकारी दिए ।

रिडीदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडकखण्डमा आउँदो फागुन महिनासम्म कालोपत्र सम्पन्न गरिने योजना रहेको छ ।