काठमाडौं – काठमाडौं महानगरपालिका–८, जयबागेश्वरीस्थित ऐतिहासिक ब्रह्मा मन्दिरको शुक्रबार मेयर बालेन साहले उद्घाटन गरेका छन् । छैटौं शताब्दीको प्राचीन मानिने यो मन्दिरको पुनर्निर्माण कार्य काठमाडौं महानगरपालिकाको पहलमा सम्पन्न भएको हो ।

मन्दिरका आर्किटेक्ट डिजाइनर विनिता मगैयाका अनुसार जगबाट ३००×२०० मिलिमिटरका ७२ वटा इटाको उचाइमा मूर्तिको आसन तयार गरिएको छ । मूर्तिको जग एक इटाको उचाइको छ भने मूर्तिको उचाइ १० इटाको बराबर रहेको बताइयो । झाडी र फोहरले ढाकिएको अवस्थामा गरिएको प्रारम्भिक अध्ययनका क्रममा मन्दिरको लम्बाइ–चौडाइ साढे ८ हातको संरचना भेटिएको थियो । हाल मन्दिरको पेटी २६×२६ र मन्दिर १६×१६ क्षेत्रफलमा निर्माण गरिएको छ ।

आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार सार्वजनिक खरिद प्रक्रियाबाट चयन गरिएको निर्माण कम्पनीले करिब १ करोड १२ लाख ४५ हजार रुपैयाँ लागतमा मन्दिर पुनर्निर्माण गरेको हो । सडकबाट ५ फिट उचाइमा पेटी उठाएर माटो, इटा र काठ प्रयोग गरी २३.५ फिट उचाइको दुईतले प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको छ । मन्दिरको शिरमा ३ फिटको गजुर राखिएको छ ।
संस्कृतिविद् मुकुन्दराज वैद्यका अनुसार ब्रह्मा मन्दिरको पुनरुत्थानले ‘ग्वलः देँ’ क्षेत्रको प्राचीनता पुनस्र्थापना गर्न सहयोग पु¥याएको छ । उनका अनुसार ग्वलः देँ (ग्वलः देश) क्षेत्र तान्त्रिक परम्परा र ९ अङ्कको प्रयोगका कारण विशिष्ट मानिन्छ— जसअन्तर्गत ९ पोखरी, ९ ढुङ्गेधारा, ९ इनार, ९ ढोका, ९ शक्तिपीठ, ९ पाटी–पौवा, ९ डबली, ९ टोल र ९ थरी जात रहेका छन् ।

मन्दिर उत्खननका क्रममा जगमा ९ वटा कुण्ड भेटिएका थिए, जसले ग्वलः देँ क्षेत्रको धार्मिक, ऐतिहासिक र तान्त्रिक महत्व झल्काएको संस्कृतिविद् वैद्यले बताएका छन् ।
यसअघि ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको ब्रह्माको मूर्ति हालै पुनःस्थापना गरिएको थियो । मन्दिर पुनर्निर्माणसँगै सो क्षेत्र काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाको पुनर्जीवन स्थलका रूपमा उदाएको बताइएको छ ।



