म्याग्दी – जिल्लाका किसान गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातका धानबालीतर्फ आकर्षित हुँदैछन् । जिल्लाका उर्वरभूमि मानिने ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखु लगायतका फाँटमा परम्परागत रैथाने जातको धान विस्थापित हुँदै नयाँ उन्नत जातको धान लगाउने चलन बढेको छ ।
करिब दुई दशकअघिसम्म यहाँ गौरिया, गुडुरा, जेठोबुढो, ताकमारे, जौधान लगायतका रैथाने जातको धान लगाउने चलन रहेको थियो । तर अहिले स्थानीय जातको धान पाउन कठिन भएको छ । कृषि प्राविधिकका अनुसार रैथाने जातको धान कम उत्पादन हुने र रोगप्रतिको प्रतिरोध क्षमता कमजोर हुने भएकाले कृषकहरूले रोग प्रतिरोधी र उत्पादन बढी हुने उन्नत जात रोज्न थालेका छन् ।
बेनी नगरपालिका–१ रत्नेचौरमा उत्पादन हुने औषधीय गुणसम्पन्न ‘जौधान’ पनि लगाउन छोडिँदा यहाँको प्रसिद्ध ‘भुजा’ रैथाने जात इतिहासमा सीमित बनेको छ ।
म्याग्दी कृषि ज्ञान केन्द्रले रैथाने जातको बीउ संरक्षण र उत्पादनमा जोड दिँदै आएको छ । मङ्गला गाउँपालिकाले पनि रैथाने जात संरक्षणका लागि अभियान सुरु गरेको कृषि प्राविधिक प्रशान्त पौडेलले बताए । रैथाने जातको धानलाई रोग प्रतिरोधी उन्नत जातसँग क्रसिङ गरेर संरक्षण गर्ने, साथै लोपोन्मुख जातका बीउ खुमलटारस्थित ‘जिन’ बैंकमा सुरक्षित राख्ने काम भइरहेको छ ।
स्थानीय किसान पदमपाणि शर्माका अनुसार, बगरफाँटका खेतमा पाइने ‘गौरिया’ धान हाल विरलै मात्र भेटिन्छ। रासायनिक मलको प्रयोग र उत्पादन कम हुन थालेपछि यसको स्वाद र परम्परागत बास्ना पनि हराइसकेको उनले बताए ।
म्याग्दी जिल्लामा करिब ३,८९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। परम्परागत जातमा गौरिया, गुडुरा, जेठोबुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङजस्ता जातहरु कम हुँदै गएका छन् भने कृषकहरू माछापुच्छे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ जस्ता उत्पादन बढी दिने उन्नत जात रोज्न थालेका छन्।
यसरी रैथाने धान संरक्षणमा चुनौती बढ्दै गएको छ भने किसान उत्पादन वृद्धि र रोग प्रतिरोधी जातको खोजीमा केन्द्रित हुँदै छन् ।



