प्रधानमन्त्री कार्की र स्थानीय जनप्रतिनिधिबीच बालुवाटारमा छलफल

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले र स्थानीय सरकारका जनप्रतिनिधिहरूबीच आगामी निर्वाचन तयारी र स्थानीय शासनका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको उक्त छलफलमा गाउँपालिका राष्ट्रिय महासङ्घ र नगरपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले पछिल्लो राजनीतिक परिस्थिति, स्थानीय सरकारका कामकारबाही, समस्या तथा निर्वाचन तयारीबारे सुझाव लिँदै परामर्श गरेकी हुन् ।

छलफलमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावना सुदृढ गर्दै सुशासन र शान्ति सुव्यवस्था कायम गर्न सबै तहका सरकार एकमत भएका थिए ।

स्थानीय जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन गरेको प्रयासको सराहना गर्दै मुलुकमा स्थायित्व र आशा जगाउने कार्य गरेको उल्लेख गरे ।

सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हा पनि छलफलमा सहभागी भएका थिए । गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा आएको सरकारले शान्ति र सुरक्षाका लागि स्थानीय सरकारबाट सहयोग अपेक्षा रहेको बताए । उनले केही हराइरहेका हतियार र करिब पाँच हजार कैदीबन्दीको खोजीमा सहयोग गर्न पनि अनुरोध गरे ।

जनप्रतिनिधिहरुले मार्गदर्शनका कारण करार कर्मचारी नियुक्तिमा रोक र ठेक्का लागिसकेका योजना रोकिएको समस्या उठाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । साथै, तीनै तहका सरकारबीच समन्वय गर्न गठित संयन्त्रहरूलाई सक्रिय बनाउन पनि सुझाव दिए ।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा स्थानीय सरकारको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताउँदै समन्वय र सहकार्यका माध्यमबाट अघि बढ्न निर्देशन दिइन् । उनले भनिन्, “निर्वाचनको वातावरण बनाउन तपाईँहरूको भूमिका निर्णायक हुन्छ । तपाईँहरूको चासो हामी सम्बोधन गर्छौं, निर्धक्कसँग आफ्नो काम अघि बढाउनुहोस् ।”

प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूलाई समावेशी तरिकाले अघि बढ्न आग्रह गर्दै जेनजी समूहलाई पनि पार्टी बनाएर चुनावमा सहभागी हुन सुझाव दिएको जानकारी दिइन् । उनले राजनीतिमा संस्कार र अनुशासनको आवश्यकता पनि जोड दिइन् ।

छलफलमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानासहित विभिन्न पदाधिकारीहरूको सहभागिता थियो ।