ऊर्जामन्त्री घिसिङको बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग

काठमाडौँ – राजनीतिक सङ्घठन ‘जेन–जी मुभमेन्ट’ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग गरेको छ । मुभमेन्टले मन्त्री घिसिङको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबरको नोक्सान हुनेगरी विद्युत् खरिदबिक्री सम्झौता भएको आरोप लगाएको छ ।

मुभमेन्टका प्रवक्ता विजय साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ। नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ। विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ।”

साथै ‘जेन–जी मुभमेन्ट’ले राष्ट्रघाती सम्झौतामा संलग्न व्यक्तिहरूलाई जेल हाल्न र राज्यको सम्पत्ति फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्न समेत माग गरेको छ।