काठमाडौँका २२ हजार विद्यार्थीको डिजिटल स्वास्थ्य प्रोफाइल तयार

काठमाडौँ – ‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ भन्दा बढी विद्यालयका करिब २२ हजार विद्यार्थीको डिजिटल स्वास्थ्य प्रोफाइल तयार पारेको छ। साथै ५८ हजारभन्दा बढी स्वास्थ्य अभिलेख विन्दुहरू सुरक्षित रूपमा डिजिटलाइज गरिएको छ ।

विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा चुनौती देखिएपछि संस्थाले प्रविधिमा आधारित विद्यार्थी स्वास्थ्य रेकर्डिङ प्रणाली विकास गरेको हो । यस प्रणालीमार्फत विद्यालयमा भएका सबै स्वास्थ्यसम्बन्धी क्रियाकलाप व्यवस्थित रूपमा अभिलेख गरिँदै आएको छ ।

संस्थापक डा. प्रशान्त भट्टराईका अनुसार, सरकारको ‘एक विद्यालय, एक नर्स’ नीति, मध्याह्न भोजन, खोप, डिवर्मिङ, आयरन–भिटामिन वितरणजस्ता कार्यक्रमहरू बढ्दै जाँदा विद्यार्थीको स्वास्थ्य सम्बन्धी व्यवस्थित डाटाबेस नहुनुले वास्तविक समयमा तथ्याङ्क पाउन समस्या पैदा गरेको थियो। यस प्रणालीले विद्यार्थी, अभिभावक, विद्यालय र नगरपालिकालाई तथ्य–आधारित निर्णय लिन सहयोग पु¥याउने बताइएको छ ।

प्रोफाइलमा खोप, आयरन–भिटामिन वितरण, कीरा मार्ने (डिवर्मिङ) कार्यक्रम, विद्यालयमा हुने निजी क्षेत्रका स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र विद्यालय नर्सद्वारा दिइने तत्कालीन स्वास्थ्य सेवा लगायतका विवरण समेटिने डा. भट्टराईले जानकारी दिए ।

संस्थाका अनुसार, विद्यालयमा भएका हरेक स्वास्थ्यसम्बन्धी क्रियाकलाप समेट्ने दीर्घकालीन र व्यवस्थित अभिलेख तयार गर्नु नै यस संस्थाको प्रमुख उद्देश्य हो ।