मेलम्ची विवाद सहमति कार्यान्वयनमा जुट्यो सरकार : सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान

काठमाडौँ –  मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवक्र्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरूबीच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले टेण्डर आह्वान गरेको हो ।

मेलम्ची–अम्बाथान–मेलम्चीघ्याङ सडकखण्डको करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न तीन वटा प्याकेजमा विभाजन गरी टेण्डर गरिएको छ ।

गत २० कात्तिकमा मेलम्ची खेलाको पानी सुरुङमार्फत काठमाडौं उपत्यकामा ल्याउने सम्बन्धी समझदारीपछि स्थानीय सरोकारवालाले सहमति जनाएका थिए । उक्त समझदारीअनुसार अब सडक निर्माण र स्तरोन्नतिको काम अघि बढ्न लागेको हो ।