काठमाडौंँ, – काठमाडौंँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य सेवा सुविधाको क्षेत्रमा उत्कृष्टताको उपाधि हासिल गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिकालाई उत्कृष्ट घोषित गरेको हो । स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताका सूचकका आधारमा गोकर्णेश्वरले अग्रस्थान प्राप्त गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
नगर प्रमुख दीपक रिसालले यो उपलब्धि सम्पूर्ण नगरवासीको गर्वको विषय भएको बताउनुभयो । उहाँका अनुसार, यस उत्कृष्टताले नगरपालिकालाई अझ सुलभ, प्रभावकारी र गुणस्तरिय स्वास्थ्य सेवा विस्तार गर्न प्रोत्साहित गर्नेछ ।
गोकर्णेश्वर नगरपालिकाले शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि योग र जीवनशैली परिवर्तनका कार्यक्रमलाई पनि उच्च प्राथमिकता दिएको छ । हाल नगरका ९ वटै वडामा गरी ४५ वटा नियमित योग केन्द्र सञ्चालनमा रहेका छन् ।
स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार, नगर अस्पतालमार्फत स्थायी बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ । साथै, नेपाल मेडिकल कलेज, नेपाल अर्थोपेडिक अस्पताल र शङ्करापुर अस्पतालसँगको सहकार्यमा उपचारमा छुटको व्यवस्था पनि गरिएको छ ।



