खोटाङ, – हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पताल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारमाथि कडाइ गर्दै सवारीसाधन नियन्त्रणमा लिएको छ ।
नगरपालिकाले वडा नं. ७ महादेवस्थानस्थित निर्माणाधीन १५ शय्याको अस्पताल भवन अलपत्र पार्ने नमूना/हिमालयन जेभी का ठेकेदार रमेश बस्नेतको गाडी नियन्त्रणमा लिएको हो ।
नगरप्रमुख विमला राईका अनुसार ठेक्का सम्झौताअनुसार काम अघि नबढेपछि गाडी, चाबी र सवारी दर्ता प्रमाणपत्रसमेत नियन्त्रणमा लिइएको हो। “पटक–पटक ताकेता गर्दा पनि काममा प्रगति नदेखिएपछि बाध्य भएर यस्तो कदम चाल्नुपर्यो,” उनले भनिन्, यसबारे जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराइएको छ ।
नगरपालिकाले ठेकेदारसँग चैत १२ गतेदेखि निर्माण कार्य पुनः सुरु गर्ने लिखित प्रतिबद्धता गराएको छ । सम्झौताअनुसार ४५ दिनभित्र बेसमेन्ट स्ल्याब, त्यसपछि ६०–६० दिनभित्र पहिलो र दोस्रो तलाको ढलान सम्पन्न गर्नुपर्नेछ। प्रतिबद्धता उल्लङ्घन गरे कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ ।
विसं २०७८ साउन ८ गते सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भएको उक्त अस्पताल निर्माण २०८० साउनमै सकिनुपर्ने थियो । तर म्याद सकिएको दुई वर्ष बितिसक्दा पनि भवन जगभन्दा माथि उठ्न सकेको छैन । निर्माण कम्पनीले यस अवधिमा रु चार करोडभन्दा बढी भुक्तानी लिइसकेको छ ।
ठेकेदार पक्षले भने डिजाइन स्वीकृतिमा ढिलाइ भएको कारण काम प्रभावित भएको दाबी गर्दै आएको छ ।
नेपाल सरकारको नीति अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने कार्यक्रमअन्तर्गत हलेसी तुवाचुङसहित अन्य गाउँपालिकामा पनि अस्पताल निर्माण थालिएको थियो । तर कतिपय स्थानमा निर्माण प्रगति सन्तोषजनक नभएको गुनासो बढ्दै गएको छ ।
स्थानीय तहले यसपटक देखाएको कडाइले विकास निर्माणमा ढिलासुस्ती गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सन्देश दिने अपेक्षा गरिएको छ ।


