काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको विधान संशोधन गर्दै पहिलोपटक ‘वरिष्ठ नेता’ पद सिर्जना गर्ने भएको छ । आगामी महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमार्फत उक्त पद थप्ने सहमति जुटेको हो ।
रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सोही पदमा निरन्तरता दिने गरी विधानमा व्यवस्था गर्न लागिएको हो । बालेन रास्वपामा समाहित हुँदा पदाधिकारीको जिम्मेवारी लिन इच्छा नदेखाएपछि सभापतिपछिको वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’ का रूपमा व्यवस्थापन गरिएको थियो ।
तर हालसम्म पार्टी विधानमा उक्त पदको औपचारिक व्यवस्था नभएकाले अब विधान संशोधनमार्फत त्यसलाई संस्थागत गर्न लागिएको हो ।
रास्वपाका एक पदाधिकारीका अनुसार वरिष्ठ नेता पद निर्वाचनबाट चयन हुने नभई सम्मानित तथा सेरेमोनियल भूमिकाको पद हुनेछ ।
“वरिष्ठ नेता पदाधिकारीभन्दा फरक रहनेछ । यो सम्मानित पद भएकाले निर्वाचन होइन, मनोनयनको व्यवस्था हुनेछ,” ती पदाधिकारीले बताए ।
स्रोतका अनुसार प्रधानमन्त्री बालेन नै वरिष्ठ नेताको भूमिकामा रहनेछन् । उनलाई वरिष्ठ नेतामा निरन्तरता दिने समझदारी यसअघि नै भइसकेको बताइएको छ । बालेनले पार्टीभित्र शक्तिशाली कार्यकारी पद लिने चाहना नदेखाएको स्रोतको भनाइ छ ।
सहमहामन्त्रीको संख्या पाँच पुर्याइने
सचिवालय बैठकले विधान संशोधनमार्फत संगठन संरचनामा थप केही परिवर्तन गर्ने निर्णय पनि गरेको छ ।
हाल चार जना रहेको सहमहामन्त्रीको संख्या बढाएर पाँच पुर्याउने निर्णय गरिएको छ । नयाँ व्यवस्थाअनुसार सहमहामन्त्रीमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुनेछन् ।
त्यस्तै उपसभापति, सहप्रवक्ता र सहकोषाध्यक्ष पदमा पनि कम्तीमा एक जना महिला प्रतिनिधित्व अनिवार्य गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
रास्वपाले आगामी महाधिवेशनबाट संगठन संरचनालाई थप व्यवस्थित र समावेशी बनाउने तयारी गरेको जनाएको छ ।



