पालिकास्तरीय अस्पतालको भवन अलपत्र

म्याग्दी, फागुन १५ गते । जिल्लाको धौलागिरि गाउँपालिका वडा नम्बर ७ ताकममा निर्माण थालिएको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ ।

निर्माण सकिनुपर्ने समयमा एक चौथाइ मात्र निर्माण भएको छ । भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवनको काम एक वर्षयता नभएको स्थानीयवासी देवेन्द्रबहादुर थापाले गुनासो गर्नुभयो ।

भवन बनाउन लागि विसं २०७८ वैशाखमा बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले रु चार करोड ७९ लाख ४० हजार तीन सय ३४ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।

पाँच शय्या क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे दुई तले भवन निर्माण गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माण कम्पनीका प्रतिनिधिलाई रोकिएको भवन निर्माण अघि बढाउन ताकेता गरिएको बताउनुभयो । “नागरिकको गुनासो र हामीलाई पनि असहज भएपछि निर्माण व्यवसायीलाई मङ्सिरमा काममा फर्काएका थियाँै, केही दिन आयोजनास्थलमा आएका व्यवसायी पुनः आएका छैनन्”, उहाँले भन्नुभयो, “स्थानीय समस्या समाधान गरेर व्यवसायीलाई काममा फर्काउन पहल गरे पनि सफल भएको छैन ।”

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो । समयमै भवन नबन्दा अस्पताल सञ्चालनको तयारी प्रभावित बनेको वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो ।

ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलान डिपिसीको काम गरेको छ । विसं २०७७ पुस २२ गते प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलन्यास गर्नुभएको थियो । हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको अस्पताल भवनको २०८० जेठसम्म म्याद थपिएको धौलागिरि गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका सवइन्जिनियर लोकेन्द्रबहादुर रावलका अनुसार, निर्माण कम्पनीले गाउँपालिकाबाट १९ प्रतिशत रु ९२ लाख ५० हजार रकम भुक्तानी लगेको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार ताकममा भवन निर्माण हुन लागेको हो ।