खुल्लामञ्च अब सधैँका लागि सर्वसाधारणलाई खुला गरिने

काठमाडौँ – राजधानीको ऐतिहासिक खुल्ला मञ्च अब सधैँका लागि सर्वसाधारणका लागि खुला गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले पुनःसंरचना, हरियाली र पूर्वाधार सुधारका काम सकाएसँगै मञ्चलाई स्थायी रूपमा नागरिक प्रयोगका लागि खुला राख्ने निर्णय गरेको हो ।

महानगरको सार्वजनिक निर्माण विभागले करिब ९० लाख रुपियाँ खर्च गरेर मञ्चको १४ हजार ६ सय वर्गमिटर क्षेत्रमा प्राकृतिक दुबो रोपेको छ । मैदानको सतह सम्याएर मलिलो माटो राखी हरियाली फैलाइएको मञ्च अहिले लोभलाग्दो स्वरूपमा परिणत भएको छ ।

काठमाडौं महानगरका अनुसार , चउर वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग बनाइएको छ । सहरका अन्य भागमा स्तरोन्नति कार्य गर्दा निकालिएका हेक्जागोनल ब्लक पुनःप्रयोग गरी मार्ग तयार गरिएको छ । पैदल मार्गमा न्यूरोडबाट ल्याइएका २१ वटा पोल पुनःस्थापित गरिएका छन्, जसमा डे–नाइट सेन्सरयुक्त बत्ती जडान हुँदैछन् — राति आफैं बल्ने र दिनमा निभ्ने प्रणालीसहित ।

खुल्ला मञ्च अब सहरी नागरिकका लागि बहुउपयोगी सार्वजनिक स्थलका रूपमा प्रयोग हुनेछ । बिहान व्यायाम, योगा, टहलिने, खेलकुद प्रशिक्षण वा बालबालिकाका स्वतन्त्र खेलका लागि यो स्थान उपयुक्त हुनेछ ।

महानगरका अनुसार खुल्ला मञ्चको पश्चिमपट्टि गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ र भलिवल, व्याडमिन्टन जस्ता खेल खेल्न मिल्ने खुला क्षेत्रसमेत बनाइएको छ ।

सहकार्यका लागि महानगरले नेपाल सरकारको स्वामित्वको पूर्वाधार निर्माण कम्पनीसँग २०८१ वैशाख १० गते सहमति पत्रमा हस्ताक्षर गरेको थियो । उक्त सहमतिअनुसार वैशाख २४ गतेदेखि ग्रेडिङ र लेभलिङ कार्य सुरु भएको थियो ।

यससँगै मैदानमा वर्षाको पानी नजम्ने र भूमिगत जल पुनर्भरण हुने व्यवस्था मिलाइएको छ । मैदानका ६ ठाउँमा ४ फिट व्यास र ४ फिट गहिराइका वाटर रिचार्ज पिट निर्माण गरिएको छ ।

करिब तीन महिना दैनिक ५० जना जनशक्ति परिचालन गरी ढुङ्गा टिप्ने, सम्याउने र दुबो रोप्ने काम पूरा गरिएको हो ।

खुल्ला मञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रफलमा फैलिएको छ — टुँडिखेलतर्फ २२० मिटर, रत्नपार्कतर्फ १९० मिटर, प्राधिकरणतर्फ ११० मिटर र वीर अस्पतालतर्फ ११७ मिटर लामो–चौडा क्षेत्रमा ।

२०७२ सालको भूकम्पपछि अस्थायी बसपार्क, विद्यालय र निर्माण सामग्री भण्डारणका रूपमा प्रयोग भएको यो ठाउँ अब पुनः हरियाली र नागरिक उपयोगका लागि स्थायी रूपमा खुला भएको छ ।