तनहुँ — गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण थालिएका तनहुँका तीन ठूला सडक आयोजना लामो समयसम्म पनि सम्पन्न हुन नसकेपछि समस्याग्रस्त आयोजनाको सूचीमा परेका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँले आँबुखैरेनी–छिम्केश्वरी सडक, दुलेगौडा–हर्कपुर सडक र भानुमार्ग–चन्द्रावती–कुन्छा–कालिमाटी सडकलाई समस्याग्रस्त आयोजना घोषणा गरेको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार वर्षौअघि निर्माण सुरु भए पनि निर्धारित समयमा काम सम्पन्न नहुँदा तीनै सडक चुनौतीपूर्ण बनेका छन् । “काम छिटो सम्पन्न गराउन निरन्तर दबाब दिंदै आएका छौँ,” तिवारीले बताए ।
आँबुखैरेनी–छिम्केश्वरी सडक : ९१ प्रतिशत मात्र भौतिक प्रगति
२०७६ मङ्सिर ६ मा सम्झौता गरी २०७८ फागुन १३ भित्र सक्ने गरी थालिएको पहिलो खण्डको कालोपत्रे कार्य पटक–पटक म्याद थप्दा २०८२ असोजसम्म पुगेको छ ।
रु ३६ करोड ५ लाख ५० हजारमा एमएस शर्मा काष्ठमण्डप जेभीसँग सम्झौता भएको यस सडकको भौतिक प्रगति ९१ प्रतिशत र वित्तीय प्रगति ८९ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
भानुमार्ग–चन्द्रावती–कुन्छा–कालिमाटी सडक : आधा मात्रै प्रगति
२०७६ कात्तिक ४ मा सम्झौता भई २०७८ माघ १५ भित्र सम्पन्न हुनुपर्ने यो सडकको म्याद २०८२ चैतसम्म लम्बिएको छ ।
१०.१२ किलोमिटर खण्डमा भौतिक तथा वित्तीय प्रगति ५०–५० प्रतिशत मात्र छ।
रु २३ करोड २ लाख ८० हजार लागतमा एमएस शङ्करमाली निर्माण सेवासँग ठेक्का भएको सडकमा हालसम्म रु १० करोड ११ लाख भुक्तानी गरिएको छ ।
दुलेगौडा–हर्कपुर सडक : काम अलपत्र
यस सडकको स्तरोन्नति कार्य पनि २०७६ कात्तिक ४ को सम्झौताअनुसार २०७८ माघ १५ सम्म सकिनुपर्ने थियो। तर म्याद बारम्बार थपिँदै २०८२ चैतसम्म पुगेको छ ।
१०.१८ किलोमिटर सडकमा ५० प्रतिशत भौतिक तथा ५० प्रतिशत वित्तीय प्रगति मात्र देखिएको छ ।
रु २५ करोड ९९ लाख लागतमा सम्झौता भएको यस आयोजनामा हालसम्म रु १३ करोड ४ लाख भुक्तानी भएको कार्यालयले जनाएको छ ।
लगातार ढिलाइले स्थानीय भागदौड
लामो समयदेखि निर्माण नटुंगिँदा यात्रा जोखिमपूर्ण रहेको स्थानीयहरूको गुनासो बढ्दो छ। सडक समयमै नबन्दा विकासका अन्य गतिविधिमा पनि अवरोध भइरहेको सरोकारवालाहरू बताउँछन् ।
पूर्वाधार विकास कार्यालयले तीनै ठेकेदारलाई म्यादभित्र काम सम्पन्न गराउन कडा निगरानी र आवश्यक दबाब जारी राख्ने जनाएको छ ।



