काठमाडौं – स्वदेशमै काम गर्ने चाहना हुँदाहुँदै पनि उचित पारिश्रमिक र सम्मान नपाउँदा नेपाली युवा वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भेटिएका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल त्यसैको उदाहरण हुन् ।
काठमाडौँमा फोहर संकलनदेखि होटलमा वेटरको कामसम्म गरेका विशालले मेहनतअनुसार पारिश्रमिक नपाएको गुनासो गरे। “परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ,” उनले भने ।
धनकुटाका गुञ्जन तामाङ पनि मनोरञ्जन क्षेत्रमा काम गर्दागर्दै अपमानजनक व्यवहार र तलब नपाउने समस्याबाट हैरान छन् । नौ महिनामा चार ठाउँमा काम बदल्नुपरेको बताउँदै उनले भने, “तलबै नदिएपछि के बसिरहनु ?” रोजगारीको अस्थिरताका कारण उनले पनि वैदेशिक रोजगारीको तयारी थालेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो एक महिनामा मात्रै ६२ हजार २६५ जना नेपाली रोजगारीका लागि विदेशिएका छन्। श्रम अधिकारकर्मी नवीन कुमारका अनुसार स्वदेशमा श्रमको सम्मान र उचित पारिश्रमिकको अभावका कारण युवाहरू विदेशिन बाध्य भइरहेका छन्।
जिफन्टको अध्ययनअनुसार नेपालमा एक करोड ३० लाखभन्दा बढी श्रमिक रहे पनि उनीहरूको शारीरिक, मानसिक र सामाजिक सुरक्षा अझै व्यवस्थित हुन सकेको छैन। “न्यूनतम ज्याला र समान पारिश्रमिक नपाउने अवस्था अझै उस्तै छ,” उनले भने।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा युवा बेरोजगारी दर १२.७ प्रतिशत रहेको छ, जसमा १५ देखि २५ वर्ष उमेर समूह बढी प्रभावित छन्। श्रम बजारमा सहभागी दर भने ३७.५ प्रतिशत मात्रै रहेको छ।
नेपालको संविधानले रोजगारीको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ भने ‘रोजगारीको हकसम्बन्धी ऐन, २०७५’ पनि जारी गरिएको छ। सरकारले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यसमेत लिएको थियो, तर कार्यान्वयन हुन सकेको छैन।
यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८१ वैशाखदेखि ‘श्रम संसार’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा ९६ हजार ९७३ जनाले रोजगारी खोजेका भए पनि हालसम्म जम्मा नौ जनाले मात्र रोजगारी पाएको विवरण देखिन्छ।
मन्त्रालयका इन्जिनियर इन्द्रनारायण यादवका अनुसार रोजगारी पाएपछि धेरैले प्रणालीमा अद्यावधिक नगरेकाले तथ्याङ्क कम देखिएको हो। “रोजगारको अभाव छैन, खोजी गर्न सके ‘श्रम संसार’ प्रणाली उपयोगी हुन सक्छ,” उनले भने।



