आठ वर्षदेखि अलपत्र कोबाङ–जोमसोम सडक

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम सडकअन्तर्गत कोबाङ–जोमसोम खण्ड आठ वर्षदेखि अलपत्र परेको छ । बेनी–जोमसोमको ७४ किलोमिटर सडकमा करिब १७ किलोमिटरको निर्माण कम्पनीको ढिलासुस्तीका कारण रोकिएको हो ।

कालीगण्डकी करिडोरअन्तर्गत चार खण्डमा आर्थिक वर्ष २०७३÷७४ मा ठेक्का सम्झौता गरी निर्माण थालनी गरिएको थियो । पप्पु–गौरी पार्वती कोशी एण्ड न्यौपानी जेभीले ११ मिटर चौडा सडक निर्माणसहित कालोपत्र गर्न रु ७० करोडमा सम्झौता गरेको थियो। सुरुआतमा काम तीव्र भए पनि कम्पनीले ढिलासुस्ती गरेपछि काम रोकिएको थियो ।

आयोजनाले कारबाही प्रक्रिया अघि बढाएपछि जेभीको मुख्य कम्पनी गौरी–पार्वतीले जिम्मा लिएको थियो । कम्पनीले आंशिक रूपमा मात्र काम सम्पन्न गरेको छ । हाल सडकको भौतिक प्रगति ९० प्रतिशत र वित्तिय प्रगति ८० प्रतिशत रहेको छ ।

कोबाङ–जोमसोम सडकअन्तर्गत थासाङ गाउँपालिका टुकुचेमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसिसी सडक विस्तार बाँकी छ । मार्फा राजखोलाको पक्की पुलबाट माथिल्लो क्षेत्रमा करिब १,२०० मिटर कालोपत्र, पुथाङ विमानस्थल माथिबाट नेपाली सेनाको ब्यारेकसम्म करिब ५०० मिटर सडकमा ‘स्टक्चर’ र कालोपत्र बाँकी रहेको छ ।

गौरी पार्वती निर्माण कम्पनीका प्रतिनिधि सुमन अधिकारीका अनुसार, “हामीले जिम्मा लिएपछि कामलाई तीव्रता दिएका छौँ । हाल कामदार घर गएका कारण रोकिएको छ, अब एक हप्ताभित्रै काम निरन्तरता पाउनेछ। मङ्सिर मसान्तसम्म सडकको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।”

कोबाङ–जोमसोम सडक कालोपत्र नभएकोले पर्यटक, स्थानीयका साथै सवारीसाधन र पैदलयात्रीलाई समस्या भैरहेको छ। सडक पूरा भएमा मुस्ताङ र म्याग्दीको सिमाना घाँसाबाट कागबेनी–मुक्तिनाथसम्म आवागमन सहज हुने छ ।