फलेटारमा स्याउखेती परीक्षण सफल, गाउँमा उत्साह

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा गरिएको स्याउखेती परीक्षण सफल भएको छ । स्थानीय किसान तथा विभिन्न संस्थाहरूले रोपेका स्याउका बिरुवाले छ महिनामै फल दिन थालेपछि गाउँमा उत्साह छाएको हो ।

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा पर्ने घुन्सा र फले क्षेत्रमा इटालीबाट ल्याइएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका स्याउका बिरुवा परीक्षणका रूपमा रोपिएका थिए। सफल परीक्षणसँगै हिमाली क्षेत्रमा व्यावसायिक स्याउखेतीको ठूलो सम्भावना देखिएको स्थानीय किसानहरूको भनाइ छ ।

फलेटार र ग्याप्ला क्षेत्रमा विगतदेखि स्याउखेती हुँदै आए पनि घुन्सामा पहिलोपटक गरिएको परीक्षण सफल भएको हो । मनाङ एग्रो फार्मको समन्वयमा ल्याइएका बिरुवा पुतली सहयोग योजना, स्वीट्जरल्याण्डको टोली तथा स्थानीय समुदायको सहकार्यमा फलेटार र घुन्सामा दुई–दुई रोपनी क्षेत्रमा नमूना बगैँचा विस्तार गरिएको हो। परियोजनाको उद्देश्य स्याउसँगै अन्य कृषि उपजमार्फत किसानलाई आर्थिक रूपमा सशक्त बनाउनु रहेको पुतली सहयोग योजनाका जिल्ला संयोजक दावाछिरिङ शेर्पाले बताए ।

स्थानीय नुपुडुण्डुक शेर्पाले पहिलोपटक घुन्सामा उत्पादन भएको स्याउ स्वादिष्ट र मीठो भएको बताउँदै अब व्यावसायिक स्याउबगैँचा विस्तार गर्ने योजनामा रहेको जानकारी दिए । स्थानीयवासी पनि सफल परीक्षणपछि आम्दानीको नयाँ स्रोत खुल्ने आशामा उत्साहित बनेका छन् ।

घुन्सास्थित नमूना बगैँचामा ६० जापानिज फुजी, १० गोल्डेन डेलिसियस तथा १० गाला प्रजातिका स्याउका बिरुवा रहेका छन्। बगैँचामा जैविक विविधता कायम राख्न घार मौरी र कुखुरापालनसमेत गरिएको छ, जसले परागसेचन र माटो उर्वरता वृद्धि गर्न सहयोग गरेको छ ।

यसअघि चार वर्षअघि फलेटार र घुन्साको माटो स्वीट्जरल्याण्डमा परीक्षण गरिएको थियो। यसपालि फले र घुन्सामा उत्पादन भएका स्याउको गुणस्तर परीक्षण पनि सफल भएको छ । स्वीट्जरल्याण्डबाट आएका स्याउ विशेषज्ञले स्वाद, दाना र चिनीको मात्रा जाँच गर्दा सबै प्रजातिमा सकारात्मक नतिजा आएको हो ।

विशेषज्ञका अनुसार घुन्सामा उत्पादित फुजीमा १३ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १७ ब्रिक्स चिनीको मात्रा पाइएको छ। फलेमा फुजीमा १२ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १५ ब्रिक्स मापन गरिएको छ ।

पुतली सहयोग आयोजनाका अनुसार घुन्सा र फले क्षेत्रमा हाल विदेशी सहयोगमा स्याउबगैँचा सञ्चालन भइरहेका छन् । हालै स्वीट्जरल्याण्डबाट आएको विशेषज्ञ टोलीले स्याउखेती विस्तार गर्न इच्छुक किसानका जग्गा नापजाँचसमेत गरेको जिल्ला संयोजक शेर्पाले जानकारी दिए ।