हिमा गाउँपालिकाको ८० प्रतिशत घरमा धारा जडान

जुम्ला — जुम्लाको हिमा गाउँपालिकाले सुशासन तथा सेवा प्रवाह सुधारको लक्ष्यसहित अघि बढाएको ‘एक घर एक धारा’ अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ । करिब ८० प्रतिशत घरधुरीमा धारा जडान गर्दै गाउँपालिकाले सबै घरधुरीलाई खानेपानी सुविधा पु¥याउने लक्ष्यमा तीव्रता दिएको छ ।

आर्थिक वर्ष २०८१/८२ को प्रगति सार्वजनिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले हालसम्म करिब २ हजार ३०२ घरधुरीमा धारा जडान भइसकेको र बाँकी घरधुरीमा पनि विस्तार कार्य निरन्तर जारी रहेको जानकारी दिनुभयो। गाउँपालिकामा सञ्चालन भएका विभिन्न योजनाबाट ‘एक घर एक धारा’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको हो ।

शुद्ध खानेपानीको पूर्वाधार विकासका लागि ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना’ ले गाउँपालिकासँगको सहकार्यमा पाइपलाइन तथा धारा विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको गाउँपालिका अध्यक्ष लक्ष्मीबहादुर शाहीले बताए ।

स्वास्थ्य सेवातर्फ, गत वर्ष सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ९७१ जनाले सेवा प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न थालिएको छ । ‘छोरीको सुरक्षा जीवनभरि’ कार्यक्रमअन्तर्गत ५६ जनाको बैंक खाता खोलिएको तथा ज्येष्ठ नागरिक वृद्धभत्ता बैंकमार्फत वितरण गर्दा ४८८ जनाले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत बुढाले जानकारी दिए ।

आन्तरिक राजस्वतर्फ गाउँपालिकाले आर्थिक वर्षमा २६ लाख ४३ हजार रुपैयाँ संकलन गरेको छ। यसै आर्थिक वर्षमा विभिन्न शीर्षकका १०९ योजनाहरू सम्पन्न गरिएको अध्यक्ष शाहीले बताए ।

हिमा गाउँपालिकाले आगामी वर्षमा पनि आधारभूत सेवा, खानेपानी, स्वास्थ्य, सरसफाइ र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै विकासका कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ ।