डोलेश्वर महादेव र गोकुलधाममा शतबीज छर्नेको भीड

काठमाडौँ – डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा बालाचतुर्दशीका दिन शतबीज छर्ने भीड लागेको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृको सम्झनामा अखण्ड दीप र महादीप बालेर जाग्राम बस्ने परम्परा रहेको छ । आज बालाचतुर्दशीका दिन यही परम्पराअनुसार डोलेश्वर महादेव मन्दिरमा शतबीज छर्ने क्रियाकलाप भएको हो ।

चाँगुनारायण र सूर्यविनायकका विभिन्न शिवालयहरूमा समेत भक्तजनले शतबीज छरेका छन् । केही वर्षअघि सम्म शतबीज छर्न पाशुपत क्षेत्रमा जाने गरेका स्थानीयहरू अहिले डोलेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिङ्ग निर्माण भएसँगै मूल दीपबाट बत्ती सल्काएर शतबीज छर्ने क्रम थालेका हुन् ।

त्यसैगरी, चाँगुनारायण नगरपालिका–५, गोकुलधाम, मच्छेनारायण मन्दिर र सूर्यविनायक सिपाडोलस्थित आशापुरी महादेव गुण्डुको अनन्तलिङ्गेश्वर मन्दिर परिसरमा पनि स्थानीय भक्तजनले शतबीज छरेका छन् ।