चालु वर्षको चार महिनामा काठमाडौँ महानगरको राजस्व संकलन ३ अर्ब २२ करोड

काठमाडौँ – चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म काठमाडौँ महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष यही अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो। यसरी हेर्दा यस वर्ष ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ बढी राजस्व संकलन भएको देखिन्छ ।

गत वर्ष महानगरपालिकाले १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ राजस्व लक्ष्य निर्धारण गरेको थियो भने चालु आर्थिक वर्षको कुल राजस्व लक्ष्य १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राखिएको छ ।

चालु आर्थिक वर्षको यस अवधिमा आन्तरिक राजस्व १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन भएको छ । गत वर्ष आन्तरिक राजस्व १ अर्ब ९९ करोड २ लाख ६७ हजार ६९५ रुपैयाँ संकलन भएको थियो । यसले देखाउँछ कि आन्तरिक राजस्वमा गत वर्षको तुलनामा २ करोड २० लाख ९१ हजार ९९५ रुपैयाँ घटेको छ ।

राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार आन्तरिक राजस्व घट्नुको मुख्य कारण सम्पत्ति कर हो । गत वर्षको पहिलो चौमासिकमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपैयाँ संकलन भएको सम्पत्ति कर यस वर्ष ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँमा झरेको छ । अधिकारीले भने, “गत वर्ष सम्पत्ति करको दर मालपोत कार्यालयले तोकेको दरमा लिइयो। ठूला भवन भएका करदाताको राजस्व वृद्धि भयो, साना घरधनीको घट्यो। असोज २०८१ मा कार्यपालिकाले पुरानो दरमा कर लिन निर्णय गरेपछि यस वर्ष कर समायोजन हुँदा रकम घटेको हो ।”

वहाल कर संकलन यस वर्ष वृद्धि भएको छ । गत वर्ष ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँ संकलन भएकोमा यस वर्ष १ अर्ब २ करोड ९२ लाख ९७ हजार ५७० रुपैयाँ संकलन भएको छ । अधिकारीका अनुसार, “२०८२ जेठ २० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले वहाल कर स्थानीय सरकारको क्षेत्राधिकारमा पर्ने फैसला गरेपछि साविक संघ सरकारको आन्तरिक राजस्व कार्यालयबाट उठाइँदै आएको कर महानगरपालिकामा जम्मा हुन थालेको हो ।”

व्यवसाय करमा पनि वृद्धि देखिएको छ। गत वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपैयाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ संकलन भएको छ ।

तर भवन नक्सा शुल्कबाट संकलन घटेको छ । गत वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँ मात्र असुली भएको छ। सहरमा भवन निर्माण घटेकाले राजस्वमा पनि कमी आएको हाे ।