बागलुङ — बसाइँसराइको प्रभावले गाउँका घर रित्तिँदै गए पनि बागलुङ नगरपालिका नजिकैको काठेखोला गाउँपालिका–८, लेखानीमा व्यावसायिक तरकारीखेतीले नयाँ आशा जगाएको छ। खेतबारी र खेतीपातीलाई नै मुख्य पेशा बनाएका यहाँका स्थानीयहरू बिहानदेखि साँझसम्म बारीमै व्यस्त देखिन्छन् । गाउँका झण्डै एक सय परिवार हाल व्यावसायिक तरकारीखेतीमा आबद्ध छन् ।
लेखानी गाउँ विकासका हिसाबले सुगम मानिए पनि धेरै स्थानीय रोजगारीका लागि शहर तथा विदेशतिर लागिरहेका छन् । तर गाउँमै बस्नेहरूले भने आफ्नो मेहनत र उत्पादनले परिवार पाल्न सकिने सम्भावना प्रमाणित गरिरहेका छन् । स्थानीयहरू साग, मुला, बन्दा, काउली, गोलभेँडालगायत विभिन्न प्रजातिका तरकारी उत्पादन गरी दैनिक बजार आपूर्ति गरिरहेका छन् ।
स्थानीय किसान लीलाधर कँडेलका अनुसार तरकारीखेतीबाट हुने आम्दानीका कारण गाउँकै आधारभूत जीवनस्तर सुधारिएको छ । “गाउँमा सुन फलाउन सकिन्छ,” कँडेलले भने, “पहिले धेरै जना जापान, कोरिया, अमेरिका, चितवन, पोखरा, काठमाडौंतिर लागे, हामी त गाउँमै रोकियौँ । सुरुमा जान नपाएकोमा निराश लाग्थ्यो, तर अहिले तरकारीले धेरैलाई सुख–शान्ति दिएको छ। खेती गरेका कोही पनि भोकै बस्नुपरेको छैन ।”
सहयोग र तालिमपछि तरकारीखेतीमा उत्साह
विभिन्न दातृ संस्था र स्थानीय पालिकाको सहयोगका कारण लेखानीमा तरकारीखेती विस्तारमा उल्लेखनीय वृद्धि भएको छ । गाउँभर फैलिएका प्लास्टिक टनेलहरूले खेतीमा आएको रूपान्तरण झल्काउँछन् । दुई वर्षअघि गाजा फाउन्डेसनले ५० परिवारलाई तालिम र अनुदान दिएपछि खेतीमा आकर्षण झनै बढेको स्थानीयहरू बताउँछन् ।
स्थानीय लक्ष्मी कँडेलका अनुसार बजार नजिक भएकोले बिक्रीका लागि कुनै समस्या छैन ।“गाउँबाट दैनिक गाडी चल्ने भएकाले तरकारी बजार पठाउन सजिलो छ,” उनले भनिन्, “सुरुमा एउटा बारीमा मात्र सुरु गरेको खेती अहिले तीन बारीमा विस्तार गरेकी छ ु।”
तर, बाहिरबाट सस्तो दरमा आउने तरकारीले कहिलेकाहीँ मूल्य घटाउनुपर्ने बाध्यता पनि रहेको उनी बताउँछिन् । “राज्यले बाहिरको तरकारी नियन्त्रण गरिदिए किसानले उचित मूल्य पाउँथे,” उनले भनिन् ।
वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
एक दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका लीलप्रसाद कँडेलले विगतका वर्षहरूमा परम्परागत खेतीले राम्रो नतिजा नदिए पनि अब वार्षिक रु पाँच लाखभन्दा बढीको तरकारी बिक्री हुने गरेको बताए। उनी भन्छन्, “पहिले गाउँमा तरकारी बेच्ने चलनै थिएन। अहिले सबै किसान व्यावसायिक बन्दै गएका छन्, उत्पादन पनि बढेको छ।”
गाउँले व्यावसायिक तरकारीखेतीलाई अपनाएपछि कृषि आधारित आय–आर्जनमा सुधार आएको र गाउँ छाडेर जानेहरूको विकल्पमा ‘गाउँमै भएकै अवसर’ ठोस प्रमाणका रूपमा देखिन थालेको स्थानीयहरूको धारणा छ।


