मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले सडक विस्तारका क्रममा प्रभावित घरधनी, व्यवसायी तथा नागरिकको हितमा सहुलियतपूर्ण पहल गर्ने निर्णय गरेको छ ।
उपमहानगरको ७६ औँ कार्यपालिका बैठकले हेटौंडा बजारभित्र पर्ने राजमार्गको दायाँ–बायाँ सडक विस्तारमा सहयोग गर्ने घरधनी, व्यवसायी र अन्य सरोकारवालालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । साथै, प्रभावित घरधनीहरूले घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापन गर्न सहुलियतपूर्ण ब्याजदरमा निश्चित समयसम्म ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सडक विस्तारका कारण व्यवसाय स्थापनामा असुविधा भएको व्यवसायीका लागि व्यवसाय सुरू नहुँदासम्म कर छुट दिने, जग्गा नभएका घरधनीलाई घरवार सुविधा उपलब्ध गराउने, र वडा कार्यालयमार्फत विवरण संकलन गरी मालपोत कार्यालयमार्फत जाँच गरी आवास व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय पनि गरिएको छ ।
उपमहानगरले बजारको सेवा निरन्तरता सुनिश्चित गर्न मकवानपुर उद्योग वाणिज्य संघ लगायत सरोकारवालासँग समन्वय गर्दै अनुगमन तथा सहजीकरण गर्ने निर्णय गरेको छ। यसैगरी, हेटौंडा–त्रिभुवन राजपथलाई पर्यटकीय मार्गको रूपमा सञ्चालन गर्न नगर सभा मार्फत संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
सडक विस्तारबाट प्रभावित क्षेत्रमा हेटौंडाको पहिचान झल्किने नमूना घर निर्माण मोडल तयार गरी कार्यान्वयन गर्ने, छोटो प्रक्रियाबाट प्राविधिक सहयोग, नक्सापास सुविधा, र आवश्यक सामग्री उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ। २००० वर्गफिटसम्मको नक्सापास दस्तुर छुट दिने विषय पनि नगर सभामा प्रस्तुत गर्ने तयारी भइरहेको छ ।
उपमहानगरका अधिकारीहरूका अनुसार, यी निर्णयले सडक विस्तारबाट प्रभावित नागरिक र व्यवसायीलाई राहत दिँदै बजारको सुचारु सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




