रतुवा–केशलिया ६ किमि सडक निर्माणको ठेक्का तोडियो, ठेकेदारको जमानत जफत प्रक्रिया सुरु

मोरङ — हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का रद्द गरिएको छ । सडक विभाग मातहत हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि., हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य भएको सूचना सार्वजनिक गरेको हो ।

२०७६ कात्तिक २३ गते उक्त कम्पनीसँग करसहित ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य तीन वर्षभित्र, अर्थात् २०७९ कात्तिक २३ भित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर, योजना कार्यालयका अनुसार हालसम्म निर्माण प्रगति करिब २५ प्रतिशत मात्र रहेको छ। यस सडकलाई केही स्थानमा ४ लेन र केही स्थानमा ६ लेनमा स्तरोन्नति गर्ने सम्झौता गरिएको थियो ।

ठेक्का अवधिमा काम नबढेपछि दुई पटक म्याद थपिएको थियो। पछिल्लो पटक थपिएको म्याद गत जेठमा सकिए पनि निर्माण व्यवसायीले कार्य अघि नबढाएपछि ठेक्का तोडिएको योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले बताए । उनका अनुसार पटक–पटक ताकेता गर्दा पनि कम्पनीले काम सुचारु नगरेको, प्रतिबद्धता अनुसार कार्य नगरेको र साइट नै ठप्प पारेकाले ठेक्का रद्द गर्न बाध्य भएको हो ।

ठेक्का रद्दसँगै कम्पनीको कार्य सम्पादन जमानतबापतको ४ करोड १९ लाख रुपैयाँ र पेश्कीबापतको ९ करोड ६७ लाख रुपैयाँ जफत गराउन बैंकमा पत्राचार भइसकेको पोखरेलले जानकारी दिए। पेश्की रकम १० प्रतिशत व्याजसहित असुल गरिनेछ ।

गत साउनमा योजना कार्यालयले ‘किन ठेक्का नतोड्ने?’ भन्दै १५ दिने स्पष्टीकरण मागेको थियो। तर, निर्माण व्यवसायीले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको कार्यालयको भनाइ छ। निर्माण पक्षले कार्य सम्पन्नका लागि अद्यावधिक कार्यतालिका, स्रोत परिचालन योजना वा विश्वसनीय प्रतिबद्धता समेत प्रस्तुत नगरेको उल्लेख गरिएको छ ।

योजना कार्यालयले अब बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असुल गर्ने, निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिस गर्ने तयारी गरिरहेको छ। साथै, हालसम्म सम्पन्न तथा बाँकी कामको नापजाँच मूल्यांकन गरी वित्तीय फछ्र्यौट गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ। उपस्थित नभएमा कार्यालय स्वयंले नापजाँच अघि बढाउने जनाएको छ ।