दैलेख — दीर्घकालीन खानेपानी अभाव झेल्दै आएका दैलेखको भगवतीमाई गाउँपालिकाका तीन वडामा चार खानेपानी योजना सम्पन्न भएपछि स्थानीयवासी ‘एक घर–एक धारा’ सुविधाले लाभान्वित भएका छन् । योजना सम्पन्नसँगै वडा नं. १, ३ र ४ का करिब १९६ घरधुरीका १,१८४ जनाले स्वच्छ खानेपानी पहुँच पाएका छन् ।
ब्रिटिस रेडक्रस र स्वीस रेडक्रसको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले गाउँपालिकाको सहकार्यमा सञ्चालन गरेको ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’ अन्तर्गत यी आयोजनाहरू सम्पन्न गरिएका हुन् ।
दूषित पानीको समस्या अन्त्य
भगवतीमाई–३ का वडाध्यक्ष मानबहादुर खड्काका अनुसार यसअघि टाढा गएर पानी ल्याउनु पर्ने तथा दूषित पानीका कारण स्वास्थ्य समस्या बढ्ने अवस्था समाप्त भएको छ।
“कुँवाको दूषित पानीका कारण बिरामी भएर स्वास्थ्यचौकी धाउनुपर्ने अवस्था थियो, अब त्यो अन्त्य भयो,” वडाध्यक्ष खड्काले बताए।
उनका अनुसार भक्रमुल सिस्नेरी खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएपछि ९४ घरधुरीमा ‘एक घर–एक धारा’ निर्माण भएको छ ।
अति विपन्न समुदायलाई प्रत्यक्ष लाभ
योजनाबाट अति विपन्न समुदायमा स्वच्छ खानेपानीको पहुँच पुगेको छ। परियोजनाले उपभोक्तालाई खानेपानीका मुहान दर्ता गर्न सहयोग गरेको छ । साथै व्यवस्थापन समिति गठन, खानेपानी सुरक्षा योजना कार्यान्वयन तथा नियमित महसुल संकलन प्रणाली प्रभावकारी रूपमा अघि बढाइएको छ ।
साथै परियोजनाले २४ अति विपन्न घरधुरीलाई शौचालय निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेको छ । विद्यालयहरूमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा विस्तारसहित तीन तारे विद्यालय घोषणा गर्न सहयोग गरिएको छ ।
फोहोर व्यवस्थापन र सरसफाइमा सुधार
भगवतीमाई–१ का वडाध्यक्ष मानबहादुर खड्काले खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएसँगै वडामा फोहोर सङ्कलन तथा व्यवस्थापन केन्द्र सञ्चालनमा आएको बताए।
“विपन्न समुदायलाई खानेपानी उपलब्ध गराउन परियोजनाले महत्वपूर्ण सहयोग गरेको छ,” उनले भने।
भगवतीमाई–४ का वडाध्यक्ष देवलोक अधिकारीले खानेपानीका कारण महिलाको श्रम तथा समय बढी हुने अवस्था हट्दै गएको उल्लेख गरे।
“सरसफाइ, स्वच्छता र स्वास्थ्यसम्बन्धी गतिविधिमा रेडक्रसले ठूलो सहयोग गरिरहेको छ,” उनले बताए।
६३ स्वयंसेवकको परिचालन, व्यापक स्वास्थ्य र विपद् तयारी कार्यक्रम
नेपाल रेडक्रस सोसाइटी दैलेखका सभापति निरञ्जन खत्रीले सुरक्षित सुत्केरी, पारिवारिक विपद् पूर्वतयारी, सुरक्षित पिउने पानी तथा चर्पी प्रयोगसम्बन्धी व्यवहार परिवर्तनका लागि ६३ तालिमप्राप्त स्वयंसेवक सबै वडामा परिचालन गरिएको जानकारी दिए।
परियोजनाका जिल्ला संयोजक शैलेश श्रेष्ठका अनुसार पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्न वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सक्रिय रूपमा परिचालित छन्।
६६ जनालाई आधारभूत प्राथमिक उपचार तालिम, ५८ जनालाई सामुदायिक पहल तथा खोज–उद्धार तालिम, २४ जनालाई द्रुत प्रतिकार्य तालिम प्रदान गरिएको छ।
स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रहरूलाई आवश्यक विपद् प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको र विभिन्न कृत्रिम घटना अभ्यास कार्यक्रमसमेत सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिए।



