छुवाछूत गर्ते अध्यक्ष यादवलाई हदैसम्मको कारबाही हुनुपर्छ

जनकपुरधाम, फागुन २६ गते । जातीय भेदभाव तथा छुवाछूत गर्ते भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेको छ ।

संयुक्त दलित मोर्चा सिरहाले दलित समुदायलाई अपमानित हुने व्यवहार गरेको भन्दै गाउँपालिका अध्यक्ष यादवलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् ।

मोर्चाले शुक्रबार ज्ञापनपत्र बुझाउँदै जातीय छुवाछूत गरेका गाउँपालिका अध्यक्ष यादवलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

अध्यक्ष यादवले आफ्नी आमाको १३औं पुण्य तिथिको दिन आयोजना गरेको भोजमा दलित, मुस्लिम र गैरदलित समुदायलाई प्लेकार्ड र फ्लेक्स बोर्ड नै टाँसेर अलग–अलग ठाउँमा भोज खुवाएका थिए । गाउँपालिका अध्यक्ष यादवले जाति र सम्प्रदायअनुसार छुट्टाछुट्टै राखेर भोजमा छुवाछूतलाई प्रश्रय दिएको हो । उहाँको यो कदमको व्यापक विरोध भइरहेको छ ।

‘भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलित निम्तालुलाई अलगअलग खाने ठाउँ छुट्याएर जातीय भेदभाव तथा छुवाछूतको पराकाष्ठा नाघेको भन्दै’, मोर्चाका सचिव रविनकुमार महराले बताए । यसरी दलित समुदायलाई अपमानित हुने व्यवहार गर्ने गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कानूनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने उहाँको भनाई छ ।

भोजमा पूर्वमन्त्री, बहालवाला प्रदेशमन्त्री, संघीय तथा प्रदेश सासंद, जिल्लाका प्रमुख प्रशासकहरु जस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सहभागिताले झन जातीय विभेदलाई संस्थागत गरेको मोर्चाको ठहर छ ।

दलितहरुमाथि भएको जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी दायरामा ल्याएर कारबाही नगरे दलित समुदाय सशक्त आन्दालेनमा उत्रिने पनि मोर्चाले ज्ञानपनपत्रमार्फत चेतावनी दिएको छ ।