काठमाडौं – बूढानीलकण्ठको नगर अस्पतालले सेवा विस्तार गर्दै दैनिक तीन सयसम्म बिरामीलाई उपचार सेवा दिन थालेको छ। डेढ वर्ष अघिसम्म बहिरङ्ग सेवाबाट केवल तीन जनाको उपचार गर्दै सञ्चालन सुरु गरेको अस्पतालले अहिले २४ घण्टे आकस्मिकसहित विस्तारित सेवा प्रदान गरिरहेको छ ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीका अनुसार सुरुवाती चरणमा अस्पताल सञ्चालनमा कठिनाइ आउने आशङ्का भए पनि अहिले सेवा उल्लेख्य रूपमा विस्तार भएको छ । “अब हाम्रो नगर अस्पतालले दिनहुँ आकस्मिक र बहिरङ्ग सेवाबाट करिब ३०० बिरामीलाई उपचार गरिरहेको छ,” उनले भने, गत सोमबारदेखि बर्थिङ सेन्टरको पनि औपचारिक सुरुआत गरिएको छ ।
अस्पताल २०८१ वैशाखदेखि सञ्चालनमा आएको हो। संघ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतमा निर्माण भएको यस अस्पतालले थप सेवा विस्तारका लागि मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको नगर प्रमुख अधिकारीले जानकारी दिए ।
उपप्रमुख अनिता लामाले बर्थिङ सेन्टर सञ्चालनसँगै मातृ–शिशु स्वास्थ्यमा महत्वपूर्ण सुधार हुने विश्वास व्यक्त गरे । “सहरी क्षेत्रमा घरमै बच्चा जन्माउने अवस्था नभए पनि सुरक्षित मातृत्वका लागि नगर अस्पतालमा बर्थिङ सेवा अत्यन्तै उपयोगी हुनेछ,” उनले भने, “यो सामुदायिक स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण कदम हो ।”
आम्दानीमा वृद्धि
सेवा लिने नागरिकहरूको संख्या बढेसँगै अस्पतालको आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षमा अस्पतालले रु १ करोड १७ लाख आम्दानी गरेकोमा चालु आर्थिक वर्षको पाँच महिनामै रु १ करोड ८० लाख आम्दानी भइसकेको प्रशासकीय अधिकृत गोपाल पोखरेलले जानकारी दिए ।
उनका अनुसार सेवासँगै आम्दानी बढ्दै गए पनि सार्वजनिक स्वास्थ्य सेवा नाफाघाटा आधारमा चल्ने नभएको र आवश्यकताअनुसार नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको बताए । अस्पतालमा अहिले ७० जना कर्मचारी कार्यरत छन् र थप सेवा, जनशक्ति तथा मेडिकल सामग्री व्यवस्थापनका कार्यहरू भइरहेका छन् ।



