म्याग्दी — धवलागिरि गाउँपालिका–४ मा अवस्थित मुदीगाउँ प्राकृतिक सौन्दर्य, हिमशृङ्खला, ग्रामीण जीवनशैली र मगर संस्कृतिको आकर्षणले भरिएको पर्यटकीय गन्तव्यको रूपमा अघि बढिरहेको छ । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल, भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घर, चिटिक्क परेका गल्ली तथा घुम्ती गोठका कारण मुदीगाउँ मनमोहक छ ।
मगर समुदायको बाहुल्य रहेको मुदीलाई प्रकृति र संस्कृतिको अद्वितीय सङ्गमका रूपमा विकास गर्ने प्रयास भइरहनुभएको वडाध्यक्ष यामबहादुर घर्ती बताउछन् । “प्रचारप्रसारको कमीका कारण ओझेलमा परेको मुदीलाई पर्यटकीय पूर्वाधारसहित अगाडि बढाउने काम भइरहेको छ,” उनले भने, । धवलागिरि हिमालको ८१६७ मिटरको शिखरसमेत यही वडाभित्र पर्ने विशेषता मुदीको प्रमुख आकर्षण हो ।
नेपाल पन्छीविद् सङ्घका अनुसार मुदी र दर क्षेत्रमा चिरकालिजको बासस्थान भेटिएको छ । एक वर्षअघि भएको अध्ययनमा मुदीमा तीन र दरमा सात जोडी चिरकालिज फेला परेका थिए ।
गाउँभित्रका गल्ली ढुङ्गा बिछ्याई चिटिक्क बनाइएको छ भने दृश्य अवलोकनका लागि वडा कार्यालय नजिकै भ्यु प्वाइन्ट निर्माण भएको छ । त्यहाँबाट धवलागिरि, गुर्जा हिमाल, नागबेली परेर बग्ने म्याग्दी र दर खोलासहित विस्तृत पहाडी भूगोलको मनमोहक दृश्य देख्न सकिन्छ । थलडाडाँ पुग्न करिब ३० मिनेट लाग्छ ।
समुद्री सतहदेखि २,५०० मिटर उचाइमा रहेको मुदीमा अधिकांश घर परम्परागत ढुङ्गाका छन् । करिब २५० घरधुरीमध्ये अधिकांश मगर, साथै केही दलित र गुरुङ समुदाय बसोबास गर्दै आएका छन् । पुरख्यौली, मादले, मारुनी, सालैजो जस्ता सांस्कृतिक प्रस्तुतिले पाहुनालाई स्वागत गर्ने परम्परा यहाँ अझै जीवित छ ।
मुदीबाट धवलागिरि चक्रीय र गुर्जा हिमाल पदमार्गमा सिधै पदयात्रा सुरु गर्न सकिन्छ । वैशाख–जेठमा यार्सागुम्बा र असोज–कात्तिकमा च्याउ टिप्ने चलनका कारण यहाँको लेक क्षेत्र चहलपहलयुक्त बन्छ । घुम्ती गोठमा गाईभैँसीपालन गर्ने स्थानीय गोठालाको जीवनशैली पनि अवलोकनको विषय भएको अध्यक्ष घर्तीको भनाइ छ ।
बेनीबाट जिपमार्फत ३ घण्टा र मोटरसाइकलमा २ घण्टामा पुगिने मुदीमा हाल घरबास (होमस्टे) सञ्चालन भएको छ । होमस्टे संचालक गौबहादुर राम्जालीका अनुसार सडक सुधार, स्थानीय नदीमा जलविद्युत् आयोजना निर्माण र बढ्दो रुचिका कारण पाहुना आउन थालेका छन् । “घरायसी वातावारणमा स्थानीय खानेकुरा सहित बास बस्ने व्यवस्था मिलाएको छु,” उनले बताए ।
घरबासमा एकैपटक २०–३० जना पाहुना बस्न सक्ने क्षमता रहेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार मुदी–मुना क्षेत्रमा रेडपाण्डा र चिरकालिजजस्ता दुर्लभ वन्यजन्तु पाइने भएकाले पर्यापर्यटन विकासको पनि ठूलो सम्भावना छ ।
मुदीको पर्यटन प्रवद्र्धनका लागि धवलागिरि आरोहण दिवस गाउँमै मनाउन नेपाल पर्यटन बोर्ड र सरोकारवाला निकायलाई अनुरोध गरिएको पुनले जानकारी दिए ।



