गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं – काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न लक्ष्य राख्दै प्रयोगशाला प्राविधिकहरूको क्षमता विकासका लागि आयोजना गरिएको गुणस्तर मापदण्ड सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ। प्रशिक्षण दुई चरणमा सम्पन्न गरिएको थियो—पहिलो चरणमा वडा नं. १ देखि १६ र दोस्रो चरणमा वडा नं. १७ देखि ३२ सम्मका प्राविधिकले सहभागिता जनाए ।

प्रशिक्षणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वागमती प्रदेश स्वास्थ्य प्रयोगशाला तथा राष्ट्रिय क्षयरोग केन्द्रका विशेषज्ञ प्रशिक्षकहरूले नमुना संकलन, गुणस्तर नियन्त्रण प्रक्रिया, क्षयरोग परीक्षण, प्रयोगशाला स्वच्छता, फोहर व्यवस्थापन, उपकरणको प्रयोग र सुरक्षित अभ्यास जस्ता विषयमा सैद्धान्तिक तथा व्यवहारिक सत्रहरू सञ्चालन गरेका थिए।

महानगरका ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत सेवा प्रदान हुँदै आएको छ र सबै वडामा स्थापना गरिएका प्रयोगशालाहरूबाट मधुमेह, मिर्गौला, पिसाब परीक्षण, क्षयरोग परीक्षणलगायत आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ। स्वास्थ्य विभागका प्रमुख दीपक कुमार के.सी. का अनुसार वडा स्तरका प्रयोगशालालाई अस्पताल स्तरको सेवा दिन सक्ने बनाउने लक्ष्यसहित सेवा विहानैदेखि सुचारु गरिने बताइयो।

‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड २०७३’ अनुसार महानगरले ‘डी’ समूह का प्रयोगशाला सञ्चालन गर्ने तयारी अघि बढाइरहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका उपप्रमुख सन्तोष सुवेदीले महानगरका प्रयोगशालाको गुणस्तर अभिवृद्धि तथा जनशक्तिको क्षमता सुदृढीकरणमा निरन्तर सहकार्य रहने बताए।

प्रशिक्षक तथा विज्ञहरूले प्रयोगशाला विज्ञान छिटो परिवर्तित हुने क्षेत्र भएकाले प्राविधिकहरूले निरन्तर सिकाइ र मानक अनुसारको सेवा प्रदायक भूमिकामा ध्यान दिनुपर्नेमा जोड दिए। राष्ट्रिय क्षयरोग केन्द्रका ल्याब टेक्निसियन ईश्वरीप्रसाद भुषाल तथा मुख्य प्रशिक्षक शंकर शाहीले महानगरले थालेको अभ्यास अनुकरणीय रहेको भन्दै नियमित अनुगमन आवश्यक रहेको सुझाव दिए।

महानगरपालिकामा हाल ३५ जना ल्याब टेक्निसियन कार्यरत छन्।