एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिने मन्त्री घिसिङको चेतावनी

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे तनहुँ र चितवन जोड्ने घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको अलपत्र घुमाउने पुलको आज स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न निर्देशन दिए । लामो समयदेखि पुल अलपत्र रहँदा राष्ट्रियस्तरमै चासो र चर्चा बढेको उल्लेख गर्दै उहाँले अब ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट गरे ।

“घुमाउने पुल जसरी पनि निर्माण हुनैपर्छ । यहाँ राष्ट्रपतिको समेत चासो छ । काम गर्नुस्, नगर्ने भए भन्नुस्,” मन्त्री घिसिङले भने, “एक महिनाभित्र काम सुरु भएन भने ठेक्का तोड्नुभन्दा अर्को विकल्प हुँदैन ।”

मन्त्री घिसिङले पुलको डिजाइन परिवर्तन भएर सडक विभागमा पुगेको विषय उल्लेख गर्दै तत्कालै डिजाइन स्वीकृत गरी निर्माण अघि बढाउन निर्देशन दिए । पुरानै डिजाइनमा पनि नौ वर्षसम्म काम नगर्नु गम्भीर लापरबाही भएको टिप्पणी गर्दै उहाँले विकास निर्माणमा ढिलासुस्ती सह्य नहुने बताए ।

आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने उक्त पुल सम्झौताअनुसार समयमा नै निर्माण भएको भए अहिलेसम्म सम्पन्न भइसक्ने अवस्था थियो । तर एघार वर्षअघि पुल निर्माण सुरु भए पनि हालसम्म दुवैतर्फका पिल्लर मात्रै ठडिएका छन् ।

सडक डिभिजन कार्यालयका अनुसार पहिलोपटक विसं २०७० असारमा मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पुल निर्माणको सम्झौता भएको थियो । पटक–पटक म्याद थप र डिजाइन परिवर्तनपछि अन्तिमपटक विसं २०७५ माघमा पुनः सम्झौता गरिए पनि विसं २०७८ चैतमा सम्पन्न हुनुपर्ने पुलको हालसम्म करिब ५० प्रतिशत मात्र काम भएको छ ।

१०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको उक्त पुलको सम्झौता गर्दा लागत रु नौ करोड ५६ लाख रहेको थियो । पुल निर्माण सम्पन्न भएपछि गण्डकी प्रदेशलाई चितवनको नारायणगढसँग जोड्ने बुद्धसिंहमार्गमार्फत पोखरा र दमौलीबाट नारायणगढ आवतजावत गर्दा हालको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटर दूरी छोटो पर्नेछ ।

घुमाउनेमा मोटरेबल पुल नहुँदा हाल यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन्, जसका कारण स्थानीय बासिन्दा र यात्रुहरू लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।