काठमाडौँको सांस्कृतिक–धार्मिक सम्बन्ध अद्वितीय, संरक्षणमा महानगर प्रतिबद्ध : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं – एउटा स्थानको सांस्कृतिक सम्पदासँग अर्को स्थानको धार्मिक–सांस्कृतिक सम्बन्ध जोडिनु काठमाडौँको अद्वितीय विशेषता भएको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताईन् । यस विशेषताको संरक्षण गर्ने दायित्वमा महानगर प्रतिवद्ध भएर काम गरिरहेको उनको भनाइ छ ।

आज वडा नं. ५ स्थित भाटभटेनीमा रहेका झुण्डिएका देवतामा आधारित परिचयात्मक वृत्तचित्रको लोकार्पण गर्दै उनकले यस्ता क्रियाकलापले सामाजिक सद्भाव बढाउने र जीवन्त परम्परालाई निरन्तरता दिने उल्लेख गरे ।

पहिचानसँग जोडिएको मौलिकता र आधुनिक विकासबीच सन्तुलन आवश्यक रहेको बताउँदै कार्यवाहक प्रमुख डंगोलले नरःदे (हाँडीगाउँ) र जयवागेश्वरी क्षेत्रका निजी तथा सार्वजनिक भवनहरूको अग्रमोहडा (फसाड) सुधार कार्य सुरु गरिएको जानकारी दिए ।

कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतीले नरःदे (हाँडीगाउँ) को मौलिकता पुनःस्थापना गर्न आउँदो २० वर्षभित्र गुरुयोजनामार्फत काम अघि बढाइने बताए । यसको प्रारम्भिक चरणमा भवनको अग्रमोहडा सुधार, पोखरी तथा हितीको पुनःस्थापना, खेलमैदानलगायत पूर्वाधार निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

उक्त वृत्तचित्रको निर्देशन प्रद्युम्न मिश्रले गरेका हुन् ।

किराँतकालदेखिका सभ्यता पाइने नरःदे (हाँडीगाउँ) मा देवता र मानिसबीचको सम्बन्ध झल्काउने अनेक कथा, किंवदन्ती तथा धार्मिक र तान्त्रिक विद्यामा आधारित मूर्त र अमूर्त सांस्कृतिक सम्पदा रहेका छन् । प्राचीन विशालनगरसँग सम्बन्ध जोडिएको भाटभटेनीका झुण्डिएका देवता यसकै उदाहरण हुन् ।

मान्यताअनुसार ‘भाट’ लाई आकाश भैरव र ‘भटेनी’ लाई आकाश देवी मानिन्छ । यी देवीदेवताका सन्तानका रूपमा बालगोपालेश्वरलाई लिने गरिन्छ, जसले गृहस्थ जीवन र वात्सल्य प्रेमलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ । मूर्ति झुण्ड्याइएको अवस्थालाई देवीदेवताको आकाशगामी स्वरूप का रूपमा बुझिने गरिएको छ ।

वृत्तचित्रमा मूर्ति कुन वस्तुबाट निर्माण गरिएको हो भन्ने विषय अहिलेसम्म अनभिज्ञ रहेको उल्लेख गरिएको छ । प्रत्येक वर्ष रंगरोगन गर्दै जाँदा मूर्तिको भित्री संरचना छोपिँदै गएकाले यसको वास्तविक बनावटबारे जानकारी नहुँदै आएको कार्यक्रममा सहभागीले बताए ।

महामारीका समयमा बालबालिकाको संरक्षणका लागि, बच्चा निरन्तर रोइरहने वा बारम्बार बिरामी भइरहने अवस्थामा भाटभटेनीको भाकल गर्ने परम्परा रहेको उल्लेख गर्दै, यसले समुदायमा गहिरो धार्मिक विश्वास र सांस्कृतिक अभ्यासलाई उजागर गर्ने वृत्तचित्रले देखाएको छ ।