भोजपुर – भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका हुन् । सडक पहुँच विस्तार भएसँगै पहिले स्थानीय बजारमै सीमित सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको छ ।
विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै सुन्तला बिक्री गर्न बाध्य भएको बताउँदै टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको जानकारी दिए । २२ रोपनी क्षेत्रफलमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती गर्दै आउनुभएका उहाँले वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएकाछन् ।
“अहिले सुन्तलाको मुख्य सिजन हो, गाउँभरि सुन्तला बिक्री भइरहेको छ,” राईले भने,“हरेक वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु ।”
यस क्षेत्रका करिब १२० घरपरिवार व्यावसायिक रूपमा सुन्तला खेतीमा संलग्न छन् । बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले खुद्रा बिक्रीको झन्झट कम भएको किसानको भनाइ छ । सडक सञ्जाल विस्तार भएसँगै यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, विर्तामोड, काठमाडौँलगायतका प्रमुख शहर तथा बजारमा पुग्ने गरेको छ। एक पटक रोपिसकेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले सुन्तला खेती किसानको रोजाइमा परेको हो ।
सुन्तला खेती वडाबासीको प्रमुख आम्दानीको स्रोत बन्दै गएपछि खेती प्रवद्र्धनका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको टेम्केमैयुङ गाउँपालिका–५ का वडाध्यक्ष सुनिल राईले जानकारी दिए । उनका अनुसार सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै पकेट क्षेत्र निर्धारण गरेर वडाले आवश्यक सहयोग गर्दै आएको छ।
कृषि पकेट कार्यक्रमअन्तर्गत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका बिरुवा वितरण गरेको थियो।
भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि टेम्केमैयुङ गाउँपालिकाका खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाका दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष भोजपुर जिल्लामा छ हजार २९३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । हाल चालु वर्षको उत्पादन बजारमा बिक्री भइरहेकाले विवरण सङ्कलनको काम भइरहेको छ ।



