काठमाडौं – भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामबारे व्यापक छलफल हुनुका साथै तीनबुँदे संयुक्त घोषणा पनि गरिएको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार दुई मन्त्रीले द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, आर्थिक सहकार्य, ऊर्जा, डिजिटल पूर्वाधार तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री बालेन शाह र नेपाली जनताको तर्फबाट भारत सरकारलाई शुभकामना सन्देश दिँदै नेपालको नयाँ सरकार सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट जनादेशसहित आएको बताएका थिए।
उनले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै भने, “हामीसँग कुनै पुरानो बोझ वा विवाद छैन, केवल हाम्रा निकटतम छिमेकी र सबैभन्दा महत्त्वपूर्ण साझेदारसँग वास्तविक रूपमै रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ संकल्प छ।”
भेटवार्तापछि दुवै पक्षले तीनबुँदे संयुक्त घोषणा गरेका छन्। घोषणाअनुसार जुन २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारीपत्रअनुसार सीमा पार ‘एकाउन्ट टु एकाउन्ट’ (एटुए) भुक्तानी प्रणाली सञ्चालनमा ल्याइनेछ।
त्यसैगरी भारत सरकारको सहयोगमा नेपालमा निर्माण गरिएका भूकम्पपछिका ७२ स्वास्थ्य संस्था तथा १२ सांस्कृतिक सम्पदा पुनर्निर्माण परियोजना नेपाललाई हस्तान्तरण गरिने भएको छ।
यस्तै, ‘भ्वाइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्न काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङअन्तर्गतको डिजिटल सार्वजनिक पूर्वाधार तथा कृत्रिम बुद्धिमत्ता केन्द्र र भारतको डिजिटल भारत भाषिनी डिभिजनबीच समझदारीपत्र आदानप्रदान गरिएको छ।
यसअघि भारतीय विदेशमन्त्री जयशंकरले विकास सहयोग, कनेक्टिभिटी, ऊर्जा, विशेषगरी जलविद्युत् विकास, शिक्षा, स्वास्थ्य, क्षमता अभिवृद्धि, डिजिटल प्रविधि, संस्कृति तथा खेलकुदलगायत विषयमा नेपाल–भारत साझेदारीका विविध पक्षबारे विस्तृत छलफल भएको बताएका थिए।
परराष्ट्रमन्त्री खनालको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ गति दिने प्रयासका रूपमा हेरिएको छ। उनी आज (जेठ २४ गते) स्वदेश फर्कने कार्यक्रम रहेको छ।



