काठमाडौं – स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार महानगरमा उपमेयर जितेको नेकपा एमालेले ती सबै निर्वाचित उपमेयरलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट चारै महानगरपालिकाका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार बनेका हुन् । तीमध्ये तीन जना पहिलोपटक केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् भने एक जना दोहोरिएकी हुन् ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ दोस्रोपटक केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् । यसअघि पनि उहाँ केन्द्रीय सदस्यको उम्मेदवार रहनुभएको थियो ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य र विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की निराला पहिलोपटक केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् ।
सुनिता डंगोल एमाले केन्द्रीय स्थानीय विभागकी सदस्य रहनुभएको छ भने मञ्जली शाक्य बज्राचार्य ललितपुर जिल्ला कमिटीकी उपसचिव हुनुहुन्छ । विराटनगरकी उपमेयर शिल्पा कार्की निराला भने यसअघि मोरङ जिल्ला अधिवेशनमा उपसचिव पदकी उम्मेदवार बनेकी भए पनि पराजित हुनुभएको थियो ।
एमालेले स्थानीय तहमा लोकप्रिय जनप्रतिनिधिलाई केन्द्रीय नेतृत्वमा अघि बढाउने रणनीतिअन्तर्गत महानगरका उपमेयरलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएको नेताहरूको भनाइ छ ।



