स्थानीयवासीद्वारा ‘अक्पाल प्लान्ट’ हटाउन माग

मोरङ – जिल्लाको कानेपोखरी गाउँपालिका–५ मा सञ्चालनमा रहेको अक्पाल प्लान्ट (अलकत्रा पोल्ने मेसिन) बाट फैलिएको प्रदूषणका कारण गाउँबस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले प्लान्ट तत्काल स्थानान्तरण गर्न माग गरेका छन् ।

बस्ती, खोला र विद्यालय नजिकै अक्पाल प्लान्ट राखिएपछि समुदाय प्रत्यक्ष प्रभावित भएको स्थानीयको गुनासो छ । प्लान्ट सञ्चालन भएपछि धुवाँ, धुलो र अन्य प्रदूषणतत्व फैलिँदा मानव स्वास्थ्य, पशुपन्छी र वातावरणमा गम्भीर असर परेको सचेत नागरिक समूहले जनाएको छ ।

सचेत नागरिक समूहका अगुवा आनन्द राईका अनुसार प्लान्ट सञ्चालन हुँदा वृद्धवृद्धा गाउँ छाडेर आफन्तकहाँ बस्न बाध्य भएका छन् । प्लान्टबाट निस्कने प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको र पशुपन्छीसमेत प्रभावित भइरहेको समूहका सचिव नवीन राईले बताए ।

कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले सम्बन्धित स्थानीय तहसँग अनुमति नलिई प्लान्ट सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार स्थानीयवासी तीन–चार पटकसम्म डेलिगेसन लिएर गाउँपालिकामा आएका छन् । “समस्या देखिएको छ, अब यो विषय आगामी कार्यपालिका बैठकमा छलफल गरिनेछ,” यादवले भने । यद्यपि, प्लान्ट पहिलेदेखि सञ्चालनमा रहेकाले सिधै बन्द गराउन कानुनी जटिलता रहेको उनको भनाइ छ ।

सचेत नागरिक समूहका अनुसार विएण्डवि कन्स्ट्रक्सनले २०७८ सालमा बस्तीबाट करिब ५० मिटर दूरीमा उक्त अक्पाल प्लान्ट स्थापना गरेको हो । निरन्तर प्रदूषणका कारण वातावरण र जनस्वास्थ्यमा असर परेकाले प्लान्ट हटाउनुपर्ने माग स्थानीयले अघि सारेका छन् ।

सम्बन्धित निकायले समस्या गम्भीरतापूर्वक सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने स्थानीयवासीले चेतावनी दिएका छन् ।