कञ्चनपुर — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् ।
राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर व्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र तथा द्विपक्षीय भेटघाटमार्फत निरन्तर छलफल भइरहेको र औपचारिक पत्राचारसमेत गरिएको जानकारी दिए ।
उनले कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले नेपालतर्फ मुख्य नहर, शाखा तथा प्रशाखा नहर निर्माण भइसकेकाले भारततर्फबाट पानी छोड्ने निर्णय चाँडै आउने विश्वास व्यक्त गरे ।
नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिअनुसार नेपालले हिउँदमा ३ सय क्युसेक र वर्षायाममा १ हजार क्युसेक पानी पाउने व्यवस्था छ । उक्त सन्धिअनुसार पानी उपयोग गरी सिँचाइ सुविधा उपलब्ध गराउन आवश्यक संरचना निर्माण सम्पन्न भइसकेका छन् ।
आयोजनामा करिब ९ अर्ब रुपैयाँ लगानी भइसकेको भए पनि हालसम्म पानी सञ्चालन हुन नसक्दा अपेक्षित प्रतिफल नआएको भन्दै स्थानीयस्तरमा आलोचना हुँदै आएको छ । पानी नबगेकाले निर्माण गरिएका संरचनाहरू बिग्रिन थालेको आयोजनाले जनाएको छ ।
महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार हेक्टर र भूमिगत सिँचाइबाट ५ हजार हेक्टर गरी कुल ३३ हजार हेक्टर क्षेत्रफलमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । आयोजनाको कुल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ ।



