काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले पदभार सम्हालेको पाँच हप्तापछि आफ्नो कार्यअनुभव र आगामी कार्यदिशा सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा मन्त्रालयको प्राथमिकता, आफ्नो कार्यशैली र सुशासनप्रतिको प्रतिबद्धता विस्तृत रूपमा प्रस्तुत गरेकी छन् ।
मन्त्री वादीले आफू पदमा आएपछि कुनै पनि राजनीतिक दबाब, सिफारिस वा प्रभावमा नपरी काम गरिरहेको दाबी गर्दै “भोट दिएको हुँ भन्ने आधारमा कुनै दबाब स्वीकार नगरेको” स्पष्ट पारेकी छन् । उनले सबै नागरिकलाई समान दृष्टिकोणले सेवा दिने प्रयास भइरहेको उल्लेख गर्दै विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तीकृत समुदायका समस्या समाधानलाई प्राथमिकतामा राखिएको बताएकी छन् ।
उनका अनुसार मन्त्रालयभित्र निर्णय प्रक्रिया पारदर्शी बनाउने, सेवा प्रवाहलाई सहज बनाउने र जनताका गुनासोलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने अभ्यासलाई प्राथमिकताका साथ अघि बढाइएको छ । नागरिकका समस्या सुन्ने र सम्भव भएसम्म आफैं उपस्थित भएर समाधान खोज्ने प्रयास पनि भइरहेको उनको भनाइ छ ।
मन्त्री वादीले सार्वजनिक गरेको प्रतिबद्धतामा प्रशासनिक निष्पक्षता र शुद्धतामाथि विशेष जोड दिइएको छ । उनले नातागोता वा चिनजानका आधारमा कुनै पनि नियुक्ति, सरुवा बढुवा नगर्ने, कानूनविपरीत कुनै पनि प्रकारको भनसुन वा शक्तिको दुरुपयोग नगर्ने र गलत कार्यमा संलग्न व्यक्तिलाई कुनै पनि हालतमा संरक्षण नदिने बताएकी छन् ।
त्यस्तै, लागूऔषध, ठगी, तस्करीलगायत आपराधिक गतिविधिमा संलग्नहरूसँग कुनै प्रकारको सहकार्य वा संरक्षण नगर्ने उनको प्रतिबद्धता छ । राज्यका स्रोतसाधनको दुरुपयोग रोक्ने, भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता अपनाउने तथा निजी प्रयोजनका लागि सरकारी प्रभाव प्रयोग नगर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेकी छन् ।
उनले मन्त्री सुविधाको अनावश्यक प्रयोग नगर्ने, सार्वजनिक पदको मर्यादा कायम राख्ने र निर्णय प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् । सबै नागरिकलाई समान व्यवहार गर्दै कमजोर, विपन्न र सीमान्तीकृत वर्गलाई विशेष प्राथमिकता दिने आफ्नो कार्यदिशा रहने उनले स्पष्ट पारेकी छन् ।
मन्त्री वादीले सुशासन केवल सरकारको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै नागरिकको सक्रिय सहभागिता र निगरानी पनि आवश्यक रहेको बताएकी छन् । उनले जनताको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा सेवा प्रवाह अझ प्रभावकारी बनाउने लक्ष्य रहेको समेत उल्लेख गरेकी छन् ।



