गएको वर्ष काठमाडौं महानगरभित्रका ३० हजारभन्दा बढी विद्यार्थीलाई पूण छात्रवृत्ति

काठमाडौँ — काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले विभिन्न छात्रवृत्तिमार्फत अध्ययनको अवसर पाएका छन् । महानगरपालिकाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा, दलित, अपाङ्ग तथा आवासीय छात्रवृत्तिमा उल्लेखनीय पहुँच विस्तार भएको हो ।

महानगर शिक्षा विभागका अनुसार छात्रा छात्रवृत्तिमा ५ हजार ८९५, दलित छात्रवृत्तिमा १ हजार ३२२ तथा अपाङ्ग र आवासीय छात्रवृत्तिमा ४५५ जना विद्यार्थी लाभान्वित भएका छन् । यस्तै संस्थागत विद्यालयतर्फ कक्षा १ देखि १० सम्म १९ हजार ३०६ र कक्षा ११ र १२ मा ३ हजार ८०१ विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् ।

यस शैक्षिक सत्रमा ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । कक्षा १ देखि १२ सम्मका ५६ हजार ३०१ विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरिएको छ भने ५८ हजार ७३९ विद्यार्थीले नियमित दिवा खाजा पाएका छन् । सेनिटरी प्याड प्रयोग गर्नुपर्ने उमेर समूहका १७ हजार ६८९ छात्रालाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराइएको विभागले जनाएको छ ।

शिक्षातर्फ यस वर्ष ३ अर्ब २९ करोड ४७ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ५३.८ प्रतिशत अर्थात् १ अर्ब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च भएको छ । संघीय सशर्त अनुदानतर्फ प्राप्त बजेटको ९२.९ प्रतिशत खर्च भएको शिक्षा विभागले जनाएको छ ।

पुस्तकरहित शुक्रबार कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्मका १८ हजार २१८ विद्यार्थी सहभागी भएका छन् । शिक्षामा सिप कार्यक्रमअन्तर्गत ५ हजार ११ जनाले कक्षा सम्पन्न गरेका छन् भने ७७ विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति गरिएको छ । सुन्दर विद्यालय निर्माणका लागि ८२ विद्यालयलाई अनुदान दिइएको छ ।

प्रारम्भिक बाल विकास केन्द्रको स्तरोन्नतिसँगै बाल भर्ना बढेको, एसईईमा उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्या वृद्धि भएको तथा दिवा खाजा र सेनिटरी प्याड वितरणपछि विद्यार्थी उपस्थिति बढेको विभागले जनाएको छ ।

महानगरपालिकाभित्र हाल ७८४ शैक्षिक संस्था सञ्चालनमा छन् । यस वर्ष सामुदायिक विद्यालयमा ६२ हजार ८८ र संस्थागत विद्यालयमा २ लाख २१ हजार ६४४ गरी कुल २ लाख ८३ हजार ७३२ विद्यार्थी अध्ययनरत रहेका छन् । महानगरभित्र २ हजार ३०३ जना शिक्षक तथा शैक्षिक जनशक्ति कार्यरत छन् ।