आरनलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाको सहयोग

काठमाडौं, भदौ ७ गते । नवलपुरको बौदीकाली गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन सहयोग गरेको छ ।
आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले विभिन्न आधुनिक औजार सहयोग गरेको हो । गाउँपालिका भित्र रहेर आरन व्यवसाय गर्दै आएका व्यक्तिलाई यसको सुधार गर्दै प्रविधिमैत्री बनाउन तथा व्यवसाय प्रवद्र्धनका लागि विभिन्न सामग्री सहयोग गरेको हो ।
गाउँपालिका भित्र रहेर परम्परागतरुपमा आरन व्यवसाय गर्दै आएका १६ जनालाई उनीहरूको पेसा थप व्यवस्थित बनाउन आवश्यक औजार सहयोग गरेको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।
आरन व्यवसाय सङ्कटमा पर्दै जाँदा यससँग जोडिएका कतिपयको जीविकोपार्जनमा समेत असर परेकाले यो व्यवसायलाई थप व्यवस्थित बनाउँदै यसमा आश्रित परिवारको आयआर्जन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखी सहयोग प्रदान गरेको अध्यक्ष ओझाले बताउनुभयो ।
“गाउँघरमा अझै पनि आरन व्यवसायबाटै गुजारा चलाउने धेरै हुनुहुन्छ, यो पेसा व्यवस्थित बनाउँदै लैजाने, पेसा नै सङ्कटमा पर्ने अवस्था रोक्ने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखेको र सोहीअनुसार सहयोग गरिएको हो”, अध्यक्ष ओझाले भन्नुभयो ।
परम्परागत सीपलाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ आधुनिक औजार सामग्री हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष ओझाले बताउनुभयो । आधुनिक औजारले कम श्रममा बढी आम्दानी लिन साथै गुणस्तरीय उत्पादनमा समेत सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।
आरन सुधार कार्यक्रमअन्तर्गत विद्युतीय पङ्खा, गे्रडर, रेटि, प्लायर, सुरक्षित पञ्जा, चश्मालगायतका सामग्री प्रदान गरिएको हो । गाउँपालिकाले आरन सुधारसँगै दलित प्रवद्र्धन तथा सशक्तीकरण कार्यक्रममार्फत पालिकाभित्र सिलाइकटाइ गर्ने ३२ जनालाई सिलाइ मेसिन सहित सिलाइ सामग्री हस्तान्तरण गरेको छ ।
यसैगरी जुत्ताचप्पल सिलाउने सामाग्री दुई जनालाई हस्तान्तरण गरिएको छ । सिलाई पेशा गर्दै आएकालाई सिलाइ मेसिनसहित आइरन, कैँची, इन्टरलक मेसिन, झोला ज्याकेट सिलाउने मेसिनलगायतका सामग्री हस्तान्तर गरिएको अध्यक्ष ओझाले बताउनुभयो ।
परम्परागतरुपमा आरन, कपडा सिलाइ तथा जुत्ताचप्पल सिलाइका पेसा गर्दै आएकाहरुलाई उत्प्रेरित गर्दै स्वरोजगारमूलक यस्ता खालका पेसालाई प्रवद्र्धन गर्न पालिकाले सहयोग गरेको अध्यक्ष ओझाले जानकारी दिनुभयो ।