तनहुँ – मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत मादी नदीमा निर्माणाधीन चार लेनको मादी पुलको निर्माण तीव्र गतिमा भइरहेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने यस पुलमा दैनिक १३० कामदार परिचालन गरिएको छ ।
आयोजना इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुल यातायात सुविधा मात्र नभई पर्यटकलाई आकर्षित गर्न कलात्मक आर्क डिजाइनमा निर्माण भइरहेको छ । पुल ३१५ मिटर लामो हुने योजना छ र हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ ।
ठेक्का सम्झौता विसं २०७९ साउन २६ गते रु १ अर्ब २१ करोडमा भएको थियो। निर्माण कम्पनीले तीन वर्षभित्र पुल सम्पन्न गर्ने लक्ष्य राखेको छ। सम्झौताअनुसार काम नसकिएपछि ११ महिना म्याद थप गरिएको छ ।
पुलमा छ वटा स्पान निर्माण हुनेछ। हाल नदीमाथि रहेको दुई लेनको पुरानो पुल ३७० मिटर लम्बाइको छ। नयाँ पुल त्यसको करिब ५० मिटर दूरीमा निर्माण भइरहेको छ ।
मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डमा आँबुखैरेनी–जामुनेसम्म १३ वटा पुल निर्माण भइसकेका छन् र ४१.४५ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । पूर्वी खण्डको काम विसं २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो ।



