तनहुँ – व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुल पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । हालसम्म पुलको भौतिक प्रगति ६५ प्रतिशत मात्र भएको छ ।
व्यास नगरपालिका–३ र ऋषिङ गाउँपालिका–१ जोड्ने उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको ढिलाइका कारण समयमै काम सम्पन्न हुन नसकेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । पटक–पटक ताकेता गरेपछि निर्माण कम्पनीले हालै पुनः काम थालेको कार्यालय प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर रवीन्द्र तिवारीले जानकारी दिए ।
उनका अनुसार पुल ‘स्टिल ट्रस’ प्रविधिमा निर्माण हुँदैछ र त्यसका लागि आवश्यक ‘स्टिल पाट्र्स’ को फेब्रिकेसन कार्य सम्पन्न भइसकेको छ । दुई ‘स्पान’मध्ये चालु आर्थिक वर्षमा एक ‘स्पान’ निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ भने बाँकी एक ‘स्पान’ निर्माणका लागि आवश्यक सामग्री भारतबाट ल्याइसकिएको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार १९४ लागतमा निर्माण भइरहेको पुल १५५ मिटर लामो र ९ दशमलव ५० मिटर चौडाइको हुनेछ । पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी, काठमाडौँसँग सम्झौता भएको थियो भने विसं २०७७ चैत २३ गते तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित शिलान्यास गरिएको थियो ।
हालसम्म तीन पटक म्याद थप भइसकेको उक्त पुलको अन्तिम म्याद विसं २०८२ चैतसम्म कायम गरिएको छ । सो अवधिभित्र निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।



