काठमाडौँ महानगरको नगर सभा पुस ११ गतेबाट

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको नगर सभाको १८ औँ अधिवेशन पुस ११ गते बस्ने गरि मिति तय भएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको ४४ औँ कार्यपालिका बैठकले नगर सभाको अधिवेशन उक्त मितिमा तय भएको हो ।

बैठकमा प्रशासन, पूर्वाधार निर्माण, वातावरण, सूचना प्रविधि, अन्तरराष्ट्रिय सम्बन्ध, कानुन तथा मानव अधिकार, महानगर प्रहरी बल, राजस्व, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सम्पदा तथा पर्यटन र सहकारी क्षेत्रका ३० वटा प्रस्ताव र विविध २ विषयमाथि छलफल र निर्णय भएको छ ।

बैठकबाट निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयहरुलाई निकासा दिने, विद्यालय र हातको सौन्दर्य अभिवृद्धि गर्न अनुदान उपलब्ध गराउने, नेपाल भाषाको पाठ्यक्रम स्वीकृत तथा पाठ्यपुस्तक संशोधन गर्ने निर्णय भएको छ । साथै १५ देखि २५ प्रतिशतसम्म भेरिएसन भएका विभिन्न पूर्वाधार योजनाहरुको अनुमोदन पनि गरिएको छ ।

यसैगरी दृष्टिविहिन क्रिकेट उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही १ लाख र टोलीका अन्य सदस्यलाई ५० हजार रुपैयाँका दरले नगदसहित सम्मान गर्ने निर्णय पनि भएको छ ।

कार्यपालिकाले श्री पारसनाथ महादेव तथा आनन्द भैरव मन्दिर, ज्ञानेश्वर व्यवस्थापन समिति कार्यविधि २०८२, बाल कोष परिचालन मापदण्ड २०८२ स्वीकृत गरेको छ। रचनात्मक सहर सञ्जाल कार्यविधि संशोधनसहित स्वीकृत भएको छ भने सहकारी ऐन २०७४ संशोधनका लागि र सूचना प्रविधि कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिइएको छ ।

बैठकमा महानगर प्रहरी ऐन संशोधन र महानगरबासीलाई निःशुल्क रक्त पदार्थ उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो ।