काठमाडौं – भद्रकाली मन्दिरको पुनःनिर्माण प्रक्रिया सन्तोषजनक रूपमा अगाडि बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक सुनिता डंगोलले पुनःनिर्माणको गुणस्तरमा विशेष ध्यान दिन र तोकिएको समयमै काम सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएकिछन् ।
मंगलबार मन्दिर परिसरको पुनःनिर्माण कार्यको अनुगमन गर्दै उपप्रमुख डंगोलले सत्तल निर्माणमा परम्परागत काठकलाका रैथाने सिप भएका व्यक्तिको सुझाव र सहयोग लिन तथा कम्पाउण्ड वाल निर्माण गर्दा सुरक्षा, सुन्दरता, मौलिकता र उपयोग सहजतालाई ध्यान दिन आग्रह गरिन् ।
अनुगमनका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालले पुनःनिर्माणको प्रक्रिया, निर्माण सामग्री, शैली र ढाँचाबारे जानकारी गराएका थिए । अनुगमनमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईँ, गुठी संस्थानका सदस्य सचिव शैलेशराज कुँवर, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरलगायत सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।
सम्पदा तथा पर्यटन विभागका प्रमुख राईका अनुसार भद्रकाली मन्दिर परिसरमा विभिन्न समुदायका कुलदेवता स्थल रहेकाले यसको ऐतिहासिक, सांस्कृतिक गरिमा जोगाउँदै पुनःनिर्माण भइरहेको छ । २०७२ सालको भूकम्पबाट जीर्ण बनेका सत्तल तथा संरचनाको पुनःनिर्माणका लागि २०८१ जेठ ६ गते सम्झौता भई असार ४ गते कार्यादेश दिइएको थियो ।
खुला प्रतिस्पर्धामार्फत ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कबोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा पाएको छ । डिजाइन र संरचनामा केही परिवर्तन भएसँगै संशोधित लागत करबाहेक करिब ३७ करोड ३० लाख रुपैयाँ पुगेको छ । निर्माण अवधि २०८४ असार ३ गतेसम्म तोकिएको छ ।
परम्परागत नेवारी शैलीमा ढोका, झ्याल, थाममा कुँदाइ तथा झिँगटी छानासहित सत्तल निर्माण भइरहेको छ । उत्तरतर्फ दुई र दक्षिणतर्फ तीन ब्लक निर्माण हुँदैछन् । करिब ४ हजार ५४४ वर्गमिटर क्षेत्रफल रहेको भद्रकाली परिसरको पुनःनिर्माणलाई सहजीकरण गर्न विभिन्न वडाका प्रतिनिधि, पुरातत्व विभाग र गुठी संस्थान सम्मिलित सहजीकरण समिति सक्रिय रूपमा काम गरिरहेको महानगरले जनाएको छ ।



