जीर्ण भवनबाट छुटकारा, मुक्तिपथ आधारभूत विद्यालयमा नयाँ कक्षाकोठा

म्याग्दी, – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण र जोखिमपूर्ण भवनमा पठनपाठन गर्नुपर्ने समस्या अन्त्य भएको छ।

तीन दशक पुरानो पानी चुहिने, पर्खाल चिरा परेको र भत्कने अवस्थामा रहेको भवनमा बसेर पढ्नुपर्ने बाध्यता अब हटेको हो। विद्यालयका लागि चारकोठे नयाँ भवन निर्माण भएपछि विद्यार्थी र शिक्षक सुरक्षित वातावरणमा पठनपाठन गर्न पाएका छन्।

विद्यालयका प्रधानाध्यापक मैयाकुमारी बरुवालका अनुसार पुरानो भवन अत्यन्तै जीर्ण भएकाले पठनपाठनका क्रममा सधैँ डर र त्रासको वातावरण रहन्थ्यो। “पहिले कक्षाकोठा जीर्ण हुँदा शिक्षक र विद्यार्थी दुवैलाई जोखिमको महसुस हुन्थ्यो,” उनले भने,“अब सुरक्षित भवन बनेपछि ढुक्कसँग पठनपाठन गर्ने वातावरण बनेको छ।”

कक्षा ३ सम्म अध्ययन हुने उक्त विद्यालयमा हाल २२ जना विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई सहज र सुरक्षित वातावरणमा पढाइ सञ्चालन गर्न सम्भव भएको विद्यालयले जनाएको छ।

चारकोठे कक्षाकोठा भवन अन्नपूर्ण गाउँपालिका र जर्मनीस्थित ‘हिमालय फ्रेण्ड्स इभी’को आर्थिक सहयोगमा निर्माण गरिएको हो। स्थानीय उपभोक्ताले श्रमदानमार्फत भवन निर्माणमा सहयोग गरेका थिए। भवनसँगै विद्यालयमा शौचालय समेत निर्माण गरिएको छ।

वडाध्यक्ष रामबहादुर खड्काका अनुसार भवन निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा २० लाख रुपैयाँ र चालु आर्थिक वर्षमा पाँच लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जर्मनीको हिमालय फ्रेण्ड्स इभी संस्थाले थप एक लाख ४९ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको उनले जानकारी  दिए ।

नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण सुधार हुने र ग्रामीण क्षेत्रमा आधारभूत शिक्षाको पहुँच अझ मजबुत हुने अपेक्षा गरिएको छ।